काठमाडौं । १३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०८२ अन्तर्गत प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारहरूको घोषणा गरिएको छ। राजधानीको बालुवाटारस्थित आम्रपाली बैंक्वट एण्ड इभेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी २०८३ असार १४ गते हुने अवार्ड समारोहका सम्मानित व्यक्तित्वहरूको नाम सार्वजनिक गरिएको हो।
कार्यक्रम संयोजक सबिता पोखरेलका अनुसार नेपाली गीत–संगीत क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ प्रदान गरिने भएको छ। सम्मानस्वरूप उहाँलाई नगद ५१ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला अर्पण गरिनेछ।
‘रातो रानी फुलेझैँ साँझमा’, ‘मायाले बाँध तिमी मलाई’, ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘पूर्णिमाको रात पनि’ र ‘चट्ट रुमाल क्या मालुम’ लगायतका सयौँ चर्चित गीतमा संगीत भरेका बास्कोटाले नेपाली संगीतको विकासमा विशिष्ट योगदान पुर्याएका छन्। संगीत सिर्जनासँगै उहाँले चलचित्र विकास बोर्ड, नेपाल टेलिभिजन, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै कला क्षेत्रको नीतिगत विकासमा समेत महत्वपूर्ण योगदान दिनुभएको छ।
यसैगरी गीतकार उन्नति बोहरा ‘शीला’लाई ‘म्युजिक खबर शब्द शीला विशिष्ट सम्मान’ प्रदान गरिने भएको छ। ‘फर्की आउ शान्ति तिमी’ जस्ता कालजयी गीतकी सर्जक शीला आधुनिक गीत–संगीत तथा चलचित्र गीत लेखनमा महत्वपूर्ण योगदानका लागि परिचित हुनुहुन्छ।
वरिष्ठ गीतकार विजय शिवाकोटीलाई ‘म्युजिक खबर रजत संगीत सम्मान–२०८२’ प्रदान गरिने भएको छ। चार दशकभन्दा बढी समयदेखि गीत लेखनमा सक्रिय शिवाकोटीका ‘मेरो गीत मन पराउँछ्यौ’, ‘बिहानी शीत बनी’ र ‘किन किन’ लगायतका गीत लोकप्रिय छन्।
यस वर्षको ‘म्युजिक खबर दशकको संगीत सम्मान’ गायक शिव परियार, गायिका कालिका रोका, गीतकार सुशिला पौडेल तथा गीतकार पुरुषोत्तम सानुलाई प्रदान गरिने भएको छ। उनीहरूले आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै सम्मान गर्न लागिएको आयोजकले जनाएको छ।
त्यस्तै, पत्रकारद्वय कुबेर गिरी र गोपिकृष्ण चापागाईंलाई ‘म्युजिक खबर संगीत पत्रकारिता सम्मान’ प्रदान गरिने भएको छ। नेपाली कला, चलचित्र तथा संगीत पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गर्न लागिएको हो।
डायस्पोरा क्षेत्रमा रहेर नेपाली गीत–संगीतको प्रवर्द्धनमा सक्रिय गीतकार पुष्पा खनाललाई ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान–२०८२’ प्रदान गरिने भएको छ। बाल कलाकार युनिश घिमिरे ‘म्युजिक खबर बालप्रतिभा सम्मान–२०८२’बाट सम्मानित हुनेछन्।
त्यसैगरी गायक, संगीतकार तथा चिकित्सक डा. रणजित झालाई ‘म्युजिक खबर संगीतकर्मी सम्मान–२०८२’ तथा सञ्चारकर्मी उदयराज शर्मालाई ‘म्युजिक खबर सञ्चारकर्मी सम्मान–२०८२’ प्रदान गरिने आयोजकले जनाएको छ।
म्युजिक खबरले हरेक वर्ष नेपाली गीत–संगीत, साहित्य, सञ्चार तथा सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टा, कलाकार र सञ्चारकर्मीलाई सम्मान गर्दै आएको छ। यस वर्षको अवार्ड समारोह आगामी असार १४ गते काठमाडौंमा आयोजना हुने कार्यक्रम रहेको छ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान’
-
प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा पाउने
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू
-
सचिन भट्टराईको नयाँ तीज गीत ‘मलाई नेपाल बस्नै मन थिएन, एम्बेसीले भिसा दिएन’ को छायांकन सम्पन्न