logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

गायिका शान्तीकुमारी शाही फाउण्डेसनको आजीवन सदस्य बन्दै भक्तजनहरुलाई देउडामा छमछमी नचाइन्

गायिका शान्तीकुमारी शाही फाउण्डेसनको आजीवन सदस्य बन्दै भक्तजनहरुलाई देउडामा छमछमी नचाइन्


  • मंगलबार, साउन ६ २०८२
  • 34K
    SHARES

    काठमाडौं, साउन ६ — मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा काठमाडौंको पशुपति मन्दिर परिसरमा “श्री पशुपति मनोकामना पूर्ति तथा संकट मोचन विराट ज्ञानमहायज्ञ – २०८२” सुरु भएको छ। साउन १ गतेदेखि भदौ २१ गतेसम्म सञ्चालन हुने यस धार्मिक अनुष्ठानले मानिसको मनोकामना पूरा गर्ने र विभिन्न संकटहरूबाट मुक्त गराउने उद्देश्य लिएको छ।

    महायज्ञमा पुगेर लोकगायिका तथा समाजसेवी शान्तीकुमारी शाहीले फाउण्डेसनको आजीवन सदस्यता ग्रहण गर्दै विशेष प्रस्तुति दिएकी थिइन्। आफ्ना चर्चित देउडा गीतहरू प्रस्तुत गर्दै उनले भक्तजनलाई छमछमी नचाएकी थिइन्। कार्यक्रमस्थलमा साङ्गीतिक र धार्मिक माहोलले भक्तजनहरूमा विशेष उत्साह देखिएको थियो। कार्यक्रममा उनले आफ्ना देउडा गीतमार्फत भक्तजनलाई छमछमी नचाएकी मात्र होइन, संस्थालाई सहयोग पनि गरेकी छन्। उनका अनुसार, “सङ्गीतबाट कमाएको लोकप्रियतालाई समाजको हितमा प्रयोग गर्नु नै सच्चा कलाकारको कर्तव्य हो।”

    उनले महायज्ञको उद्देश्यप्रति समर्थन जनाउँदै संस्थालाई व्यक्तिगत रूपमा सहयोग प्रदान गरेकी छन् । सहयोगको राशि सार्वजनिक नगरिए पनि संस्थाका पदाधिकारीहरूले गायिकाको समर्पणप्रति आभार व्यक्त गरेका छन्। उपस्थित भक्तजनहरू सांगीतिक माहोलमा रमाउँदै धार्मिक आस्थासँगै सांस्कृतिक चेतनाको अनुभव लिएका थिए।

    देउडाबाट भजनसम्म पुगिन् शान्ती
    कालीकोट स्थायी घर भएकी र हाल सुदूरपश्चिमको बैतडीलाई कर्मथलो बनाएकी गायिका शान्तीकुमारी शाहीको संगीत यात्रा विद्यालय जीवनको सामान्य देउडाबाट सुरु भएको थियो। २०७४ सालमा औपचारिक कलाकारितामा प्रवेश गरेकी शाहीका “लाली पाउडर घसेर”, “गयो जोवन माइतै बसेर”, “कर्णालीका छालै छाल”, “भोटे बाइगो मुगु” जस्ता देउडा गीतहरू कर्णाली र सुदूरपश्चिममा अत्यधिक रुचाइएका छन्।

    हालै चर्चामा रहेको ‘हरिभजन’ नामक भजनबाट समेत उनले राम्रो चर्चा पाएकी छन्। उनका गीतहरूमा हिमालको स्वच्छता, जनजीवनको कथा र मौलिकतालाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको पाइन्छ।

    उनी भन्छिन्, “सुदूरपश्चिमको भाकामा देउडाका टुक्का मिसाउँदा गीत झनै आकर्षक हुन्छ। अब म हिमालका कथाहरू पनि संगीतमार्फत सुनाउने तयारीमा छु।”

    समाजसेवामा समर्पित फाउण्डेसन
    मानव सेवा फाउण्डेसनले ललितपुरको गोदावरी नगरपालिका–१४, बोडेगाउँमा ‘मामाघर अनाथालय आश्रम’ र भक्तपुरको चाँगुनारायण–९, ताथलीमा ‘ज्येष्ठ नागरिक आश्रम’ संचालन गर्दै आएको छ। यी दुवै आश्रमलाई अझ व्यवस्थित, सुविधा सम्पन्न र आत्मनिर्भर बनाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो।

    फाउण्डेसनका अनुसार, ललितपुरको तान्चिन्टारमा निर्माणाधीन मामाघर अनाथालयका लागि अघिल्ला महायज्ञहरूबाट संकलित दान रकमबाट जग्गा खरिद गरी शिलान्यास भइसकेको छ। यस आश्रममा अभिभावकविहीन तथा आर्थिक रूपले कमजोर बालबालिकालाई गास, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षा सेवा निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ।

    त्यस्तै, भक्तपुरमा ३ रोपनीभन्दा बढी जग्गा खरिद गरी निर्माणाधीन ज्येष्ठ नागरिक आश्रममा बेसहारा, पीडित तथा गरिब वृद्धवृद्धालाई नि:शुल्क सेवा दिइँदै आएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page