logo

सोमबार, साउन ११ २०८३

kantipurpationlinetv

२०८३ साउन ११ सोमबार

दोर्दी गाउँपालिकाका सबै वडामा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ

दोर्दी गाउँपालिकाका सबै वडामा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ


  • बुधबार, साउन १४ २०८२
  • 1.2K
    SHARES

    लमजुङ। दोर्दी गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टी रकमलाई नागरिकको स्वास्थ्य सुरक्षामा लगानी गर्दै वडा नं. १ देखि ९ सम्म निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेको छ।

    मंगलबार वडा नं. ६, ७ र ८ मा कार्यक्रम शुभारम्भ भएसँगै गाउँपालिकाका सबै वडामा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम औपचारिक रूपमा सुरु भएको हो। यसअघि आइतबार वडा नं. १, २, ३ र ४ तथा सोमबार वडा नं. ५ र ९ मा कार्यक्रम शुभारम्भ गरिएको थियो।

    ‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’ भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका सबै घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य राखिएको छ।

    गाउँपालिका अध्यक्ष युवराज अधिकारीले साउन महिनाभित्र नयाँ स्वास्थ्य बीमा तथा नवीकरण गर्नुपर्ने सबै नागरिकको बीमा सम्पन्न गर्ने गरी अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। वडा कार्यालयको समन्वयमा बीमा दर्ता सहयोगीमार्फत निःशुल्क बीमा दर्ताको कार्य तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य, प्रक्रिया तथा नागरिकले प्राप्त गर्ने सुविधाबारे जानकारी गराउनुभएको थियो।

    वडा नं. ६ मा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ससबहादुर पुन, स्वास्थ्य बीमा बोर्ड लमजुङका जिल्ला संयोजक रमेश खनिया, वडाध्यक्ष नन्दराज घले, जनप्रतिनिधि, कर्मचारी, बीमा दर्ता सहयोगी, राजनीतिक दलका प्रतिनिधि तथा आमा समूहको सहभागिता रहेको थियो।

    यस्तै वडा नं. ७ मा कार्यवाहक वडाध्यक्ष लालबहादुर तामाङ, कार्यपालिका सदस्य गंगा गुरुङ, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो भने वडा नं. ८ मा वडाध्यक्ष नारान घलेको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। तीनवटै कार्यक्रमको सञ्चालन गाउँपालिका रोजगार संयोजक धर्मराज गुरुङले गर्नुभएको थियो।

    गाउँपालिकाका अनुसार निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत साउन महिनाभित्र गाउँपालिकाका ४ हजार २२५ घरपरिवारलाई स्वास्थ्य बीमाको दायरामा ल्याइनेछ। परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा आवश्यक अतिरिक्त बीमा शुल्कसमेत गाउँपालिकाले नै व्यहोर्ने व्यवस्था गरिएको छ।

    गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्य सुरक्षामा लगानी गर्दै स्वास्थ्य सेवामा सबैको समान पहुँच सुनिश्चित गर्ने नीति अनुरूप यो कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page