logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

क्व्होलासोंथारमा होमस्टे व्यवस्थापन तथा पाक शिक्षा तालिम सञ्चालन

क्व्होलासोंथारमा होमस्टे व्यवस्थापन तथा पाक शिक्षा तालिम सञ्चालन


  • शनिबार, असार २१ २०८२
  • 1.8K
    SHARES

    लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत वडा नं. ९ गिलुङमा पाँचदिने होमस्टे व्यवस्थापन तथा पाक शिक्षा तालिम सञ्चालन गरेको छ।

    ग्रामीण पर्यटन प्रवर्द्धन, स्थानीय उद्यमशीलता विकास तथा आयआर्जनका अवसर विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको प्रमुख आतिथ्यता तथा वडा नं. ९ का वडाध्यक्ष हुमराज गुरुङको अध्यक्षतामा सुरु भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङको विशेष उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले होमस्टे व्यवसाय ग्रामीण पर्यटनको विकास, स्थानीय संस्कृति संरक्षण तथा रोजगारी सिर्जनाको प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै होमस्टे सेवालाई व्यवस्थित, गुणस्तरीय तथा पर्यटकमैत्री बनाउन सहभागीहरूलाई आग्रह गर्नुभयो।

    गाउँपालिकाका उद्यम विकास सहजकर्ता यज्ञबहादुर चन्दका अनुसार स्थानीय पर्यटन प्रवर्द्धन र उद्यमशीलता विकासलाई टेवा पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। उहाँले पाँचदिने तालिमबाट गिलुङका होमस्टे सञ्चालकहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

    तालिमको पहिलो चरणमा होमस्टे राष्ट्रिय महासंघका केन्द्रीय सदस्य चुणामणि पौडेलले होमस्टे व्यवस्थापन, पाहुना सत्कार, सेवा प्रवाहका मापदण्ड, सरसफाइ, स्थानीय संस्कृति प्रवर्द्धन तथा दिगो होमस्टे सञ्चालनका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ।

    यस्तै, तालिमको दोस्रो चरणमा प्रशिक्षक मनिषा श्रेष्ठले स्थानीय तथा परम्परागत परिकार तयारी, खाद्य स्वच्छता, पोषणयुक्त खानाको व्यवस्थापन, पाककलाको प्रस्तुतीकरण तथा पर्यटक आकर्षित गर्ने विभिन्न परिकार निर्माणसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गर्नुहुने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिकाले यस्ता सीपमूलक तालिममार्फत स्थानीय स्रोत, संस्कृति र पर्यटनलाई एकीकृत गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page