logo

बुधबार, साउन ६ २०८३

kantipurpationlinetv

२०८३ साउन ६ बुधबार

१३औँ म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न, ३३ विधामा स्रष्टा र कलाकार सम्मानित

१३औँ म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न, ३३ विधामा स्रष्टा र कलाकार सम्मानित


  • मंगलबार, असार १६ २०८३
  • 0.7K
    SHARES

    काठमाडौं — नेपाली गीत–संगीत क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा, कलाकार तथा प्राविधिकलाई सम्मान गर्ने उद्देश्यले आयोजित ‘१३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०८२’ काठमाडौंमा सम्पन्न भएको छ। ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने नारासहित आयोजित समारोहमा गीत–संगीतका विभिन्न ३३ विधामा अवार्ड प्रदान गरिएको हो।

    काठमाडौंको बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहेका थिए। म्युजिक खबरको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा सम्पन्न कार्यक्रममा अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्व रहेको थियो।

    समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ गीतकार तथा साहित्यकार, संगीतकार, चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मीलगायत सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो।

    कार्यक्रममा नेपाली गीत–संगीतको विकासमा दीर्घकालीन योगदान पुर्‍याएका वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ प्रदान गरिएको छ। सम्मानस्वरूप उनलाई नगद ५१ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला प्रदान गरिएको आयोजकले जनाएको छ।

    यस्तै, गीतकार उन्नतीशीला बोहरालाई ‘म्युजिक खबर शब्दशीला विशिष्ट सम्मान’, वरिष्ठ गीतकार विजय शिवाकोटीलाई ‘म्युजिक खबर रजत संगीत सम्मान’, गायक शिव परियार र गायिका कालिका रोका मगरलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’ प्रदान गरिएको छ।

    त्यसैगरी गीतकार पुरुषोत्तम सानु र सुशीला पौडेललाई युवा संगीत सम्मान, अमेरिकामा रहेर नेपाली गीत–संगीतमा योगदान पुर्‍याउँदै आएकी पुष्पा खनाललाई डायस्पोरा संगीत सम्मान, पत्रकार कुवेर गिरी र गोपीकृष्ण चापागाईंलाई संगीत पत्रकारिता सम्मान, बालकलाकार युनिश घिमिरेलाई बालप्रतिभा सम्मान, गायिका नीता आचार्यलाई डायस्पोरा गायन सम्मान, डा. रणजित झालाई संगीतकर्मी सम्मान तथा सञ्चारकर्मी उदयराज शर्मालाई सञ्चारकर्मी सम्मान प्रदान गरिएको छ।

    लोकप्रिय गीतकार लोकराज अधिकारीको संयोजकत्वमा गठित निर्णायक मण्डलले उत्कृष्ट पाँच मनोनयनबाट विभिन्न विधाका विजेता छनोट गरेको थियो।

    अवार्डअन्तर्गत सुगम संगीततर्फ प्रविन बेडवाल र सारिका घिमिरे उत्कृष्ट गायक–गायिका घोषित भए। डम्बर याक्सो उत्कृष्ट गीतकार तथा शंकर थापा ‘स्माइल’ उत्कृष्ट संगीतकार घोषित भए।

    चलचित्र संगीततर्फ सुरज पण्डित र झुमा लिम्बु उत्कृष्ट पार्श्वगायक–गायिका घोषित हुँदा थानेश्वर गौतम उत्कृष्ट संगीतकार र युवराज काफ्ले उत्कृष्ट चलचित्र गीतकार बने।

    लोकदोहोरीतर्फ अर्जुन सापकोटा र लक्ष्मी आचार्य उत्कृष्ट गायक–गायिका घोषित भए। नवीन परियार, प्रसाद लामिछाने, दीप गुरुङ, रेखा पोख्रेल, मनोहर शर्मा, पल शाह, नारायणी खत्री तथा सुशीला गौतमले विभिन्न विधामा अवार्ड जितेका छन्।

    यसैगरी पप, राष्ट्रिय भाव, म्युजिक भिडियो, छायांकन, सम्पादन, ध्वनि सम्पादन, संगीत संयोजन, जुरी अवार्ड र क्रिटिक्स अवार्डसहित विभिन्न विधामा पनि स्रष्टा तथा कलाकारहरू पुरस्कृत भएका छन्।

    कार्यक्रममा कलाकार पल शाह, टीका प्रसाईं, धीरज राई, देवान खनाल, युनिश घिमिरेलगायतले सांगीतिक प्रस्तुति दिएका थिए भने समारोहको सञ्चालन मञ्जु पौडेल र निराजन भण्डारीले गरेका थिए। आयोजकका अनुसार नेपाली गीत–संगीतको संरक्षण, प्रवर्द्धन र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ म्युजिक खबर म्युजिक अवार्डलाई निरन्तरता दिँदै आइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page