काठमाडौं — रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष समारोहबीच चलचित्रको घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए।
अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्रको छायांकन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। कार्यक्रममा निर्माता सापकोटाले रघुजी फिल्म्सबाट यसअघि घोषणा गरिएका अन्य चलचित्र परियोजनाहरू पनि क्रमशः निर्माण प्रक्रियामा अघि बढाइने जानकारी दिए।
चलचित्रका गीत गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायांकनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्। चलचित्रमा निरज नेपाल कार्यकारी निर्माता रहेका छन्। त्यसैगरी शमशेर लामाले शृंगार तथा जीवन पोखरेलले भेषभूषाको जिम्मेवारी निर्वाह गर्नेछन्।
चलचित्रमा पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, बेगम नेपाली, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना र राजु तिमल्सिनालगायत कलाकारहरूको अभिनय रहनेछ।
पूर्ण मनोरञ्जनात्मक कमेडी कथावस्तुमा निर्माण हुन लागेको चलचित्रले हास्य, व्यंग्य र पारिवारिक मनोरञ्जनलाई केन्द्रमा राखेर दर्शकमाझ नयाँ स्वाद प्रस्तुत गर्ने निर्देशक अमरदीप सापकोटाले बताए।
निर्माण पक्षका अनुसार चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल प्रदर्शन अधिकार ओएसआर डिजिटलसँग रहेको छ। चलचित्रको प्रदर्शन मिति भने पछि घोषणा गरिने जनाइएको छ।

-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने