काठमाडौं — २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ को अवसरमा काठमाडौंको गोकर्णेश्वरमा कलाकार, जनप्रतिनिधि र स्थानीयको सहभागितामा धूमधामका साथ रोपाइँ महोत्सव सम्पन्न भएको छ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा तथा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा नेपाली लोकसंगीत क्षेत्रका चर्चित कलाकारहरू खेतमै उत्रिएर धान रोप्दै असारे गीत गाएका थिए। हिलोमा रमाउँदै कलाकारहरूले परम्परागत कृषि संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सकारात्मक सन्देश दिएका आयोजकले जनाएको छ।
कार्यक्रममा नगर प्रमुख दीपककुमार रिजालले कृषि नेपालको अर्थतन्त्र, संस्कृति र जीवनशैलीसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले धान दिवसलाई औपचारिकतामा सीमित नराखी किसानको श्रम र उत्पादनप्रतिको सम्मानका रूपमा मनाउनुपर्ने बताए। उनले कृषि संस्कृतिको संरक्षण र युवापुस्तालाई खेतीप्रति आकर्षित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले कलाकारहरूको सक्रिय सहभागिताले कृषि पेसाप्रति सकारात्मक सन्देश प्रवाह भएको बताए। उनका अनुसार प्रविधिको युगमा पनि माटो, कृषि र असारे संस्कृतिप्रतिको आकर्षण कायम राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछन्।
संस्थाका सचिव कमल सरगमका अनुसार कार्यक्रममा सहभागी कलाकारहरूले केवल औपचारिक उपस्थिति मात्र जनाएनन्, किसानसँगै खेतमा धान रोप्दै असारे गीत गाउँदै रोपाइँ महोत्सवलाई उत्सवमय बनाएका थिए।
कार्यक्रममा लोक सम्राट राजु परियार, बद्री पंगेनी, प्रकाश कटुवाल, कृष्ण कँडेलसहित इन्द्रेणी कार्यक्रमका कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो।
सोही अवसरमा **‘गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार’**बाट रेडियो नेपालका वरिष्ठ सञ्चारकर्मी तथा गीतकार राम थापा अविरललाई नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार कृषि, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा विभिन्न सामाजिक तथा व्यावसायिक संस्थाहरूले समेत सहयोग गरेका थिए। कार्यक्रममार्फत कृषि संस्कृतिको संरक्षण, किसानप्रतिको सम्मान तथा युवापुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्ने सन्देश प्रवाह गरिएको आयोजकको भनाइ छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण