सिरहास्थित इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल मधेश प्रदेशको असार महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले उत्कृष्ट कार्यसम्पादन, अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न पुर्याएको उल्लेखनीय योगदानको मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक मल्ललाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।
बुधबार मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले मल्ललाई प्रशंसापत्र तथा नगद पुरस्कारसहित सम्मान गरे।
प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक मल्लले आफ्नो सांगठनिक जिम्मेवारी लगनशील, इमान्दार र कर्तव्यनिष्ठ ढंगले निर्वाह गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा लागूऔषधविरुद्धको अभियानमा उल्लेखनीय सफलता हासिल गरेका छन्।
मल्लको नेतृत्वमा गत असार ७ गते सिरहा नगरपालिका–२१, लगडीगोठबाट कुख्यात लागूऔषध कारोबारी भारतीय नागरिक २८ वर्षीय रञ्जितकुमार पासवान (छोटु) पक्राउ परेका थिए। त्यसैगरी असार १९ गते नवराजपुर गाउँपालिका–५ स्थित सीमावर्ती क्षेत्रबाट भारतको मधुवनी जिल्लाका अब्दुल कलामलाई लागूऔषधसहित पक्राउ गर्ने क्रममा प्रहरीले उनको खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो।
यस्तै, नवराजपुर गाउँपालिका–३, दोनवारी टोलकी २४ वर्षीया आनन्दी सदायको मृत्यु प्रकरणमा संलग्न आरोपित २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवलाई समेत मल्लको कमान्डमा खटिएको प्रहरी टोलीले सीमावर्ती क्षेत्रबाट पक्राउ गर्न सफल भएको थियो।
अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाको क्षेत्रमा देखाएको प्रभावकारी नेतृत्व तथा उल्लेखनीय कार्यसम्पादनका आधारमा प्रहरी निरीक्षक विशाल मल्ललाई मधेश प्रदेशको असार महिनाका सर्वोत्कृष्ट प्रहरीका रूपमा सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
राति ११ बजेपछि व्यवसाय बन्द गर्ने निर्णय फिर्ता लिन रात्रिकालीन व्यवसायीको माग
-
बुद्धनगरमा आफ्नै शरीरमा आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारका क्रममा मृत्यु