सिरहास्थित इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल मधेश प्रदेशको असार महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले उत्कृष्ट कार्यसम्पादन, अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न पुर्याएको उल्लेखनीय योगदानको मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक मल्ललाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।
बुधबार मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले मल्ललाई प्रशंसापत्र तथा नगद पुरस्कारसहित सम्मान गरे।
प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक मल्लले आफ्नो सांगठनिक जिम्मेवारी लगनशील, इमान्दार र कर्तव्यनिष्ठ ढंगले निर्वाह गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा लागूऔषधविरुद्धको अभियानमा उल्लेखनीय सफलता हासिल गरेका छन्।
मल्लको नेतृत्वमा गत असार ७ गते सिरहा नगरपालिका–२१, लगडीगोठबाट कुख्यात लागूऔषध कारोबारी भारतीय नागरिक २८ वर्षीय रञ्जितकुमार पासवान (छोटु) पक्राउ परेका थिए। त्यसैगरी असार १९ गते नवराजपुर गाउँपालिका–५ स्थित सीमावर्ती क्षेत्रबाट भारतको मधुवनी जिल्लाका अब्दुल कलामलाई लागूऔषधसहित पक्राउ गर्ने क्रममा प्रहरीले उनको खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो।
यस्तै, नवराजपुर गाउँपालिका–३, दोनवारी टोलकी २४ वर्षीया आनन्दी सदायको मृत्यु प्रकरणमा संलग्न आरोपित २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवलाई समेत मल्लको कमान्डमा खटिएको प्रहरी टोलीले सीमावर्ती क्षेत्रबाट पक्राउ गर्न सफल भएको थियो।
अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाको क्षेत्रमा देखाएको प्रभावकारी नेतृत्व तथा उल्लेखनीय कार्यसम्पादनका आधारमा प्रहरी निरीक्षक विशाल मल्ललाई मधेश प्रदेशको असार महिनाका सर्वोत्कृष्ट प्रहरीका रूपमा सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
गायक राजन भुजेलले ल्याए पञ्चेबाजा गीत म जन्मेको ठाउँ: भिडियोमा सफल र हर्षिता
-
घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल