काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ७८ वटा फौजदारी मुद्दा दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका ४ हजार ४७९ मुद्दा दर्ता भएका छन् भने ८ हजार ५८१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरले काठमाडौं उपत्यकामा बैंकिङ कसुर, साइबर अपराध र लागुऔषधसम्बन्धी अपराध बढ्दो चुनौतीका रूपमा देखिएको जनाएको हो।
प्रहरीका अनुसार समीक्षा अवधिमा चोरीका १ हजार ७०२, ठगीका १ हजार ८९, आत्महत्याका ६७० तथा ज्यानमार्ने उद्योगका ६३८ मुद्दा दर्ता भएका छन्।
साइबर अपराधतर्फ २ हजार ३२५ वटा उजुरी परेको प्रहरीले जनाएको छ। तीमध्ये सबैभन्दा धेरै १ हजार ३२ वटा अनलाइन सपिङ ठगीका छन्। यस्तै ओटीपी तथा बैंक/वालेट ह्याकका ७३७, पार्सल तथा गिफ्ट ठगीका १०६, अनलाइन जागिरका नाममा ठगीका ९८, रुम फाइन्डर ठगीका ५२, वैदेशिक रोजगारी ठगीका ५०, ब्ल्याकमेलिङका ४२ लगायतका घटना दर्ता भएका छन्। यस्ता अपराधबाट १५ करोड ३३ लाख ९४ हजार ४ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रणतर्फ ६७० वटा मुद्दा दर्ता भएको र १ हजार ७३ पुरुष तथा ६० महिला पक्राउ परेका छन्। यस अवधिमा ८ हजार ४८५ एम्पुल नुर्फिन, ८२१ एम्पुल पुर्माथान, ३ हजार १७७ एम्पुल ब्युरोफिन, ४५२ स्पामो र ११ हजार ४७२ नाइट्राजेपाम बरामद गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
प्रहरीले प्रविधिको प्रयोगलाई पनि विस्तार गरेको जनाएको छ। एआई क्यामेराको सहयोगमा ५९ जना शंकास्पद व्यक्तिको पहिचान गरी पक्राउ गरिएको, १५६ पटक क्यानाइन (डग) पेट्रोल परिचालन गरिएको तथा एआई इन्टिग्रेटेड ड्रोनमार्फत ५० स्थानमा निगरानी गरिएको परिसरले जनाएको छ।
फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत २ हजार ४०७ जना पक्राउ परेका छन्। यस क्रममा २२ करोड ६४ लाख ८६ हजार २४० रुपैयाँ जरिवाना असुल हुनुका साथै ५१९ वर्ष ८ महिना ९ दिन बराबरको कैद कार्यान्वयन गरिएको प्रहरीको भनाइ छ।
सेवा प्रवाहतर्फ आर्थिक वर्षभर १ लाख ८२ हजार ६६४ सेवाग्राहीले प्रहरी सेवा लिएका छन्। १७ हजार ९२९ ठाडो उजुरी तथा निवेदनमध्ये १७ हजार ८७९ वटा फर्छ्योट गरिएको छ। हराएका २ हजार ४३१ जना फेला पारिएको तथा हराएका १० हजार ३३७ मोबाइलमध्ये २ हजार ८८३ वटा भेटिएको परिसरले जनाएको छ।
पत्रकार सम्मेलनमा प्रहरीले प्रविधिमा आधारित अपराधको चुनौती बढ्दै गएको उल्लेख गर्दै अनुसन्धान प्रणालीलाई थप प्रविधिमैत्री बनाउने, सामुदायिक प्रहरी साझेदारीलाई सुदृढ गर्ने तथा सार्वजनिक सुरक्षा थप प्रभावकारी बनाउने योजना रहेको जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
राति ११ बजेपछि व्यवसाय बन्द गर्ने निर्णय फिर्ता लिन रात्रिकालीन व्यवसायीको माग
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी