logo

सोमबार, साउन ११ २०८३

kantipurpationlinetv

२०८३ साउन ११ सोमबार

दरबार रोधीको १८औँ वार्षिकोत्सव: तीन दिन लोकसंगीतको उत्सव, कलाकारलाई सम्मान र सहयोग

दरबार रोधीको १८औँ वार्षिकोत्सव: तीन दिन लोकसंगीतको उत्सव, कलाकारलाई सम्मान र सहयोग


  • आइतबार, जेष्ठ ३१ २०८३
  • 0.9K
    SHARES

    काठमाडौं । राजधानीको दरबारमार्गस्थित दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तीनदिने सांगीतिक उत्सव नेपाली लोकसंगीतको भव्य प्रस्तुतिसँगै सामाजिक उत्तरदायित्वको सन्देश दिँदै सम्पन्न गरेको छ। उत्सवमा चर्चित लोकगायक–गायिकाहरूको प्रस्तुति, कलाकारप्रति सम्मान तथा दृष्टिविहीन एवं संघर्षरत कलाकारलाई आर्थिक सहयोग प्रदान गर्दै क्लबले मनोरञ्जनसँगै सामाजिक दायित्वलाई पनि प्राथमिकतामा राखेको छ।

    २९ जेठदेखि सुरु भएको उत्सवमा वरिष्ठदेखि नयाँ पुस्तासम्मका लोककलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेपाली लोकगीत, दोहोरी र तामाङ सेलोका लोकप्रिय प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।

    उत्सवको पहिलो दिन वरिष्ठ गायक तथा सर्जक प्रेमराजा महतले आफ्नो चर्चित गीत ‘माया भेटियो बन्दीपुरैमा’ प्रस्तुत गर्दै सांगीतिक माहोलको सुरुवात गरेका थिए। त्यसपछि राजु परियार को ‘मिर्मिरेको घाम’, श्याम राना को ‘रेलै सलल’ र दीपिका बयम्बु को ‘मायालाई के दिउँ म बैना’ लगायतका गीतले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।

    कार्यक्रमका क्रममा कलाकार कृष्ण कँडेलले मञ्चमै लाइभ दोहोरी प्रस्तुत गर्दा दर्शकको उत्साहपूर्ण सहभागिता देखिएको थियो। सोही अवसरमा क्लबले दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूको हितका लागि रु. ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको थियो।

    क्लबका अध्यक्ष श्रवणकुमार कुँवरले संस्थाले सामाजिक उत्तरदायित्वलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले वार्षिकोत्सवबाट प्राप्त आम्दानीको निश्चित हिस्सा आर्थिक तथा व्यावसायिक कठिनाइमा रहेका कलाकारहरूको सहयोगमा खर्च गरिने जानकारी दिए।

    उत्सवको दोस्रो दिन गायिका प्रीति आलेले आफ्नो चर्चित गीत ‘बामरी बामरी’ प्रस्तुत गर्दै युवा दर्शकलाई नचाएकी थिइन्। गायक कुलेन्द्र विश्वकर्माले ‘सालको पातको टपरी’ मार्फत सांगीतिक वातावरणलाई थप जीवन्त बनाएका थिए।

    समारोहको अन्तिम दिन गायक विश्व दोङको प्रस्तुति मुख्य आकर्षण बनेको थियो। उनले आफ्नो चर्चित तामाङ सेलो गीत ‘माया भन्दा ठूलो जात होइन’ प्रस्तुत गर्दा उपस्थित दर्शकले ताली र हुटिङका साथ साथ दिएका थिए।

    दरबारमार्गस्थित मायालु कम्प्लेक्समा आयोजित समारोहमा वरिष्ठ गायक तथा सर्जक प्रेमराजा महत प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्। साथै नेपाल लोक दोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ, राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका अध्यक्ष दीपसागर थापा, मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्का, रात्रिकालीन व्यवसायी प्रतिष्ठानकी अध्यक्ष उमा श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    अतिथिहरूलाई मौलिक नौमती बाजागाजासहित स्वागत गरिएको कार्यक्रममा क्लबको १८औँ वार्षिकोत्सवको केक काटिएको थियो। कार्यक्रमको सञ्चालन कृष्ण आँसुले गरेका थिए।

    नेपाली लोकगीत–संगीतको संरक्षण, प्रवर्द्धन तथा नयाँ प्रतिभालाई व्यावसायिक मञ्च उपलब्ध गराउने उद्देश्यले स्थापित दरबार रोधी क्लबले आफ्नो १८ वर्षे यात्रामा थुप्रै कलाकारलाई अवसर प्रदान गर्दै आएको जनाएको छ। यस वर्षको वार्षिकोत्सवले सांगीतिक मनोरञ्जनसँगै कलाकारप्रतिको सामाजिक उत्तरदायित्वलाई संस्थागत रूपमा अघि बढाउन सकिने सन्देश दिएको आयोजकको भनाइ छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page