logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

‘तारकेश्वर कप–२०८३’ सुरु, विद्यालय फुटबलबाट प्रतिभा उत्पादन गर्ने लक्ष्य

‘तारकेश्वर कप–२०८३’ सुरु, विद्यालय फुटबलबाट प्रतिभा उत्पादन गर्ने लक्ष्य


  • मंगलबार, साउन १९ २०८३
  • 1.2K
    SHARES

    काठमाडौं, १९ साउन । विद्यालय तहबाटै फुटबल प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास तथा अनुशासित र प्रतिस्पर्धी पुस्ता निर्माण गर्ने उद्देश्यसहित तारकेश्वर नगरपालिकाले पहिलो पटक ‘तारकेश्वर कप–२०८३’ छात्र फुटबल प्रतियोगिता सुरु गरेको छ।

    तारकेश्वर–८, शेषमतीस्थित टिपटप स्पोर्ट्स हबमा आइतबार आयोजित विशेष समारोहमा नगर प्रमुख कृष्णहरि महर्जनले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

    साउन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका ३२ टोलीको सहभागिता रहेको छ। नगरपालिकाले विद्यालयस्तरबाटै खेलाडी उत्पादन, स्वस्थ प्रतिस्पर्धाको भावना विकास तथा स्थानीय प्रतिभालाई राष्ट्रियस्तरसम्म पुर्‍याउने उद्देश्यसहित पहिलो पटक प्रतियोगिता आयोजना गरेको जनाएको छ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख महर्जनले प्रतियोगिताले तारकेश्वरको खेलकुद विकासमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे। उनले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ नगरपालिकाले खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको बताए।

    नगर उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले प्रतियोगिताले सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य, सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। खेलकुदमा गरिएको लगानीकै परिणामस्वरूप अहिले विभिन्न खेलका प्रतिभाको खोजीमा सबैको ध्यान तारकेश्वरतर्फ केन्द्रित हुन थालेको उनको भनाइ थियो।

    प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले खेलकुदमार्फत तारकेश्वरलाई राष्ट्रिय स्तरमा छुट्टै पहिचान दिलाउने विश्वास व्यक्त गर्दै विद्यार्थीलाई अनुशासित र खेलभावनाका साथ प्रतियोगितामा सहभागी हुन आग्रह गरे। उनले जित–हारभन्दा अनुशासन, नियमको पालना र उत्कृष्ट प्रदर्शन नै खेलको वास्तविक उपलब्धि भएको उल्लेख गरे।

    नगर प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राधाकृष्ण खड्गीले काठमाडौं जिल्लामै खेलकुद क्षेत्रमा तारकेश्वर अग्रणी स्थानीय तहका रूपमा स्थापित हुँदै गएको बताए। शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकीले विद्यालय तहबाट खेल संस्कृतिको विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे।

    खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    तारकेश्वर नगरपालिकाले पछिल्ला वर्षहरूमा खेलकुद क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालनपछि पहिलो पटक राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाएको तारकेश्वरले पहिलो सहभागितामै काठमाडौं जिल्ला स्तरीय प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको थियो। त्यसयता लगातार तीन पटक काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्दै शिल्ड स्थायी रूपमा आफ्नो नाममा दर्ता गर्न सफल भएको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाले ‘तारकेश्वर कप’लाई वार्षिक प्रतियोगिताका रूपमा निरन्तर सञ्चालन गर्दै विद्यालय तहका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page