काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बाजुराका दुर्गम क्षेत्रमा वर्षेनि दोहोरिने खाद्यान्न अभावको समस्या समाधान गर्न तत्काल प्रभावकारी आपूर्ति व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
नेपाली कांग्रेसका तर्फबाट बाजुराका प्रतिनिधिसभा सदस्य जनकराज गिरी र स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले मन्त्रालयमा पुगेर जिल्लाको खाद्यान्न अभावबारे ध्यानाकर्षण गराएपछि मन्त्री यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धकलाई तत्काल मन्त्रालयमा बोलाएर आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्।
भेटका क्रममा प्रतिनिधिमण्डलले स्वामीकार्तिक खापर गाउँपालिकामा करिब ६ हजार दलित परिवार बसोबास गर्दै आएको र खाद्यान्न अभावका कारण बालबालिका तथा स्थानीयवासी कुपोषणको जोखिममा रहेको जानकारी गराएका थिए। उनीहरूले दुर्गम बस्तीमा नियमित खाद्यान्न आपूर्ति सुनिश्चित गर्न मन्त्रालयबाट विशेष पहल गर्न आग्रह गरेका थिए।
जवाफमा मन्त्री यादवले बाजुराका दुर्गम क्षेत्रमा वर्षभरि खाद्यान्नको सहज आपूर्ति सुनिश्चित गर्न, आवश्यक परे कर्मचारी खटाएरै भए पनि खाद्य डिपोमार्फत नियमित बिक्री–वितरणको व्यवस्था गर्न निर्देशन दिइन्। हाल ती क्षेत्रमा वर्षमा दुई पटक मात्र कर्मचारी पुग्ने गरेको गुनासोसमेत मन्त्रीसमक्ष राखिएको थियो।
मन्त्री यादवले दुर्गमका नागरिक खाद्यान्न अभावका कारण कुनै पनि समस्या भोग्न नपर्ने गरी मन्त्रालय आवश्यक व्यवस्थापनका लागि प्रतिबद्ध रहेको बताउँदै आपूर्ति प्रणालीलाई तत्काल प्रभावकारी बनाउन निर्देशन दिएको जनाइन्।
मन्त्रालयका अनुसार बाजुरामा खाद्यान्न आपूर्तिको दीर्घकालीन व्यवस्थापन गर्न सकिए त्यसबाट छिमेकी कालिकोट जिल्लाका नागरिकसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन