logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

बर्खा लाग्यो, पानी पर्यो… गीतमार्फत प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीको गहिरो सन्देश

बर्खा लाग्यो, पानी पर्यो… गीतमार्फत प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीको गहिरो सन्देश


  • शुक्रबार, साउन ९ २०८२
  • 6.8K
    SHARES

    “बर्खा लाग्यो पानी पर्यो, मनै बिझायो।
    बाढी पस्यो घर बगायो, एक्लै बनायो…”
    सुनिरहँदा लाग्छ — यो केवल गीत होइन, यो त कहिल्यै नरोकिने झरीसँगै हिँडिरहेको नेपाली समाजको कथावाचन हो, शब्दमा लिपिबद्ध पीडा, सुरमा समेटिएको संवेदना हो, कुनै पहाडी/हिमाली गाउँको मनको आवाज हो ।

    प्रहरी निरीक्षकसमेत रहेका चर्चित गीतकार भूपेन्द्र बुढाथोकीले लेखेको ‘बर्खा लाग्यो पानी पर्यो’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ। गहिरो भावनाले भरिएको यो गीतमा स्वर र संगीत लोकप्रिय गायक सुरज पण्डितको रहेको छ। गीत भूपेन्द्र बुढाथोकीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    गीतमा प्रेम पनि छ, विछोड पनि छ र प्राकृतिक प्रकोपको गहिरो प्रभाव पनि।
    “देउता हुन्छ भन्थे पहाडको शिरमा, तर हामी हरायौँ दुःख अनि पिरमा…” जस्ता शब्दले गीतलाई केवल रोमान्टिक बनाउँदैन, यथार्थपरक बनाउँछ। बाढी, पहिरो, सम्झना र जीवनको एक्लोपन — यी सबैलाई शब्दमार्फत गीतकारले निकै मार्मिक ढंगले प्रस्तुत गरेका छन्। “देउता हुन्छ भन्थे पहाडको शिरमा, तर हामी हरायौँ दुःख अनि पिरमा” भन्ने पंक्तिले जनताको विश्वास र राज्यको अनुपस्थितिको कथालाई छर्लंग पार्छ।

    यस गीतमा त्यो पीडा पनि छ, जुन वर्षाले घर बगाउँछ — केवल ईँटापत्थरको घर होइन, सम्झनाले बनेको मनको घर पनि। गीत सुनिँदै जाँदा यस्तो लाग्छ, कुनै टाढाको पहाडी बस्तीमा बाढी पस्दाको क्षणलाई शब्दमा बाँधिएको छ। “बाढी पहिरो ओर्ली आउँदा मन चसक्क भयो, जीवनभरि कमाएको एकैछिनमा गयो” भन्ने भावले गीतलाई सामान्य मनोरञ्जनको भन्दा बाहिर पुर्‍याउँछ — यो एउटा वास्तविक चित्र हो, आवाजमा आएको आँसुजस्तो।

    गीतकार बुढाथोकी आफैं पेशाले प्रहरी निरीक्षक हुन्। ड्युटीको जिम्मेवारीसँगै उनी साहित्य, गीत–संगीत र समाजप्रति गहिरो संवेदना राख्ने स्रष्टा हुन्। उनका दर्जनौं गीत सार्वजनिक भइसकेका छन्, जसले आम दर्शक–श्रोताको मन जित्न सफल भएका छन्। उनीले राष्ट्रिय स्तरका प्रतिष्ठित सम्मान तथा उत्कृष्ट गीतकारका अवार्डहरू समेत प्राप्त गरिसकेका छन्। कलममा गहिराइ, भाषामा मिठास र भावना व्यक्त गर्ने शैली उनका सिर्जनाहरूको विशेषता हो।

    सुरज पण्डितको स्वर र धुनले गीतको मर्मलाई मनसम्म पुर्‍याएको छ। संगीत संयोजन सन्तुलित र सुसम्बद्ध रहेको छ। भिडियो पक्ष सादा भए पनि प्रभावशाली छ। दृश्य–कथा संयोजनले गीतको मर्मलाई साथ दिएको छ, गीतको अर्थसँग गहिरो मेल खाएको देखिन्छ।

    ‘बर्खा लाग्यो पानी पर्यो’ भन्ने गीत केवल मनोरञ्जन होइन, यो बर्खासँगै बग्ने भावनाको कथा हो, नेपाली मनको बहाव हो। जसमा प्रेम, विछोड, पीडा र यथार्थ एकैसाथ बगेका छन्।
    प्रहरीको पोशाकभित्र साहित्यको मुटु धड्किरहेको छ भन्ने कुराको उदाहरण पनि हो यो सिर्जना। प्रहरी पोशाकमा अनुशासन र कवि हृदयमा संवेदना सम्हालिरहेका भूपेन्द्र बुढाथोकी नेपाली गीत–साहित्यको एउटा फरक परिचय बन्दै गएका छन्। गीत सुन्नेहरूका लागि यो वर्षा ऋतुको वर्षाले भिजेको मनको संगीत हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page