logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित

जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित


  • शुक्रबार, साउन ९ २०८२
  • 37.4K
    SHARES

    काठमाडौं, साउन ९ – हरेक वर्ष तीजको अवसरमा मौलिक गीत ल्याउने गायिका जानकी तारामी मगरले यसपालिको तीजमा पनि नयाँ कोसेली ‘घैया घैया’ लिएर आएकी छन्। उनले स्वर, शब्द र संगीत आफैं सम्हालेको यो गीत हालै मात्र सार्वजनिक गरिएको हो। गीत सार्वजनिक भएको छोटो समयमा नै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ।

    पछिल्ला वर्षहरूमा तीज गीतहरूमा विकृति र उत्तेजकता बढिरहेको आलोचना भइरहँदा जानकी मगरको यो गीतमा भने मौलिकता र सांस्कृतिक भाव झल्किएको देखिन्छ। यस गीतको एक विशेष पक्ष भनेको गायिका जानकी मगरको श्रीमान् भगवान थापाको पनि भिडियोमा उपस्थिति हो। भिडियोमा लिप्सिङको केही भागमा जानकी र उनी श्रीमान सँगै देखिएका छन्। भगवान थापा यस गीतमा अतिथि कलाकार तथा निर्माता (प्रोड्युसर) का रूपमा पनि संलग्न छन्। उनी पेशाले युवा व्यवसायी हुन् र काठमाडौंको ठमेलमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्।

    गीतको अडियोमा जानकीसँगै प्रिती आले र किरण शेर्पालीको स्वर सुन्न सकिन्छ। संगीत संयोजन, मिक्सिङ र मास्टरिङ HBN किस्मतले गरेका हुन्। रेकर्डिङ राज खड्काले गरेका हुन् भने सम्पूर्ण अडियो 1DB HD Next Level Studio मा तयार गरिएको हो।

    भिडियो पक्षमा जेरी भण्डारीको निर्देशन, कोरियोग्राफी र अञ्जली अधिकारीको प्रमुख अभिनय देख्न सकिन्छ। छायांकन दुर्गा पौडेल र उनको टिमले गरेका हुन्। सम्पादन तथा रङ संयोजन नविन घर्ति मगरले गरेका छन्।

    गायिका जानकी मगर तीज गीतको क्षेत्रमा सशक्त नाम हुन्। उनले अघिल्ला वर्षहरूमा एकपछि अर्को गर्दै थुप्रै सुपरहिट तीज गीतहरू दिइसकेकी छन्। उनका चर्चित तीज गीतहरूमा:‘ढाड दुखेर मार्यो’,‘मेयरनीको पोइ’,‘माया साइकल किन्न जाम’,‘छप्पै माया लै लै’, पानीपुरीको चटपटेको’, ‘ढाड दुखेर करकै’ लगायत गीतहरू चर्चित छन्। यी गीतहरूले उनलाई तीज गीतको क्षेत्रमा अलग पहिचान दिलाएका छन्।

    ‘घैया घैया’ गीतमा परम्परागत तीज भाका, चेलीको पीडा र उत्सवको रौनक समेटिएको छ। शब्दहरू सरल छन् तर भाव गहिरा छन्। भड्किलो शैलीभन्दा टाढा रही सांस्कृतिक सम्प्रेषणमा केन्द्रित यो गीत समालोचक र दर्शक दुवैबाट रुचाइएको देखिन्छ। श्रोताहरूले गीतमा रहेको पुरानो र परम्परागत स्वादलाई मन पराएका छन्। “भिडियोमा जानकी र उनका श्रीमान दुवैको जोडी कत्ति क्युट देखिन्छ!”, “गीतले साँच्चिकै हाम्रो तीजको भावना छर्लङ्ग बनायो!” जस्ता कमेन्टहरू सामाजिक सञ्जालमा भरिभराइ छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page