काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेज तथा सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
मंगलबार साँझ रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपालको ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक इतिहाससँग जोडिएका दस्तावेजको संरक्षण अपरिहार्य रहेको बताएका हुन् ।
राष्ट्रिय अभिलेखालयमा सुरक्षित ऐतिहासिक दस्तावेज नेपालका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनले ती दस्तावेजलाई भावी पुस्ताका लागि सुरक्षित राख्नुपर्नेमा जोड दिए ।
‘यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य छ,’ उनले भने, ‘नेपालका ऐतिहासिक दस्तावेज सुरक्षित राख्न गर्नुभएको प्रयासका लागि धन्यवाद ।’
अभिलेखालयलाई अध्येता, विद्यार्थी तथा इतिहासमा रुचि राख्नेहरूका लागि ज्ञानको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । त्यसका लागि यसको संरक्षणमा सबै पक्षले सहकार्य गर्नुपर्ने उनले बताए ।
अवलोकनका क्रममा अर्थमन्त्री वाग्लेले ऐतिहासिक शासन व्यवस्थाका आर्थिक तथा राजनीतिक गतिविधिसँग सम्बन्धित अभिलेख र संग्रहबारे जानकारी लिएका थिए । उनले अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भए–नभएको विषयमा कर्मचारीसँग पनि जानकारी लिएका थिए ।
अर्थमन्त्री वाग्लेलाई अभिलेखालयको अवलोकन गराउँदै पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले स्रोत तथा साधनको अभावमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र राजनीतिक दस्तावेजको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताइन् ।
सुरक्षित र सुविधासम्पन्न भौतिक पूर्वाधारको अभावमा अभिलेख संरक्षणमा कठिनाइ भइरहेको उनले बताइन् । पर्याप्त स्रोतको अभावमा अभिलेखालयको महत्त्वबारे अध्येता, विद्यार्थी तथा सरकारलाई समेत प्रभावकारी रूपमा जानकारी गराउन नसकिएको उनको भनाइ थियो ।
महानिर्देशक प्रधानाङ्गले नयाँ स्थानमा जग्गासहितको भवन निर्माण, अभिलेख सुरक्षित गर्न आधुनिक प्रविधिको प्रयोग तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि बजेटमार्फत लगानी गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराइन् ।
नेपालको इतिहास, शासन व्यवस्था, धर्म, संस्कृति तथा राजनीतिक घटनाक्रमसँग जोडिएका महत्वपूर्ण दस्तावेज सुरक्षित रहेको राष्ट्रिय अभिलेखालयको संरक्षण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनको आग्रह थियो ।
-
कलाकारितापछि राजनीतिमा प्रकाश कटुवाल, कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
खेम सेन्चुरीले नारायण रायमाझीको ‘बसन्ती’बाट फिल्ममा डेब्यु गर्ने
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी