logo

बिहिबार, साउन २८ २०८३

kantipurpationlinetv

२०८३ साउन २८ बिहिबार

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले


  • बिहिबार, साउन २८ २०८३
  • 1K
    SHARES

    दमौली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विकासका लागि ऋणमा निर्भर हुने अवस्थाको अन्त्य गर्दै आफ्नै आम्दानीबाट देश निर्माण गर्ने लक्ष्यसहित सरकारले नयाँ बजेट ल्याएको बताएका छन् ।

    आफ्नो निर्वाचन क्षेत्र तनहुँ पुगेका अर्थमन्त्री वाग्लेले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै राज्यको आम्दानी बढाएर आफ्नै स्रोतबाट विकास निर्माण अघि बढाउने नीति सरकारले लिएको बताए ।

    उनले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर अत्यावश्यक दैनिक खर्चसमेत धान्नुपर्ने विगतको अवस्थालाई परिवर्तन गर्न करको दायरा फराकिलो बनाइएको बताए । थोरै–थोरै योगदानबाट राज्यको आम्दानी बढाउँदै आफ्नै स्रोतबाट देश विकास गर्ने नीति सरकारले लिएको उनको भनाइ छ ।

    ‘विगतदेखि नै हामीले देखिरहेका छौँ । ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ,’ अर्थमन्त्री वाग्लेले भने, ‘नियमित र अत्यावश्यक राज्यको दायित्व साढे १३ सय अर्ब छ । सरकारको आम्दानी १२ सय ५० अर्ब हाराहारी मात्रै छ ।’

    उनका अनुसार मुलुकको विकासप्रति जनताको अपेक्षा र आकांक्षा बढिरहेको भए पनि त्यसअनुसार राज्यको आर्थिक सामर्थ्य पर्याप्त छैन । यस्तो अवस्थामा बाह्य दातृ निकायबाट लिइने ऋणसमेत महँगो बन्दै गएकाले मुलुक आफैँ आर्थिक रूपमा सक्षम बन्नुपर्ने अवस्था आएको उनले बताए ।

    ‘करको दायरा फराकिलो बनाउनुको उद्देश्य आम्दानी बढाउनु हो’

    अर्थमन्त्री वाग्लेले करको दायरा फराकिलो बनाउने र कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुको उद्देश्य राज्यको आन्तरिक आम्दानी बढाउनु रहेको स्पष्ट पारे ।

    ‘अहिले हामीले करको दर फराकिलो बनाएको र कर तिर्न प्रोत्साहनका कार्यक्रम ल्याएको यसैका लागि हो,’ उनले भने ।

    उनले कर तिर्न नपर्ने तर विकास भने जसरी पनि हुनुपर्ने सोचबाट सबै जना माथि उठ्नुपर्ने बताए । मुलुकको विकासका लागि नागरिक र राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

    करको दायरा विस्तार गर्दा नयाँ क्षेत्रमा कर थपिएको भन्दै उठ्ने गुनासोलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले अन्तिम कर दायित्वबाट सर्वसाधारणलाई बचाउने विषयमा सरकार सचेत रहेको बताए ।

    ६६ खर्बको अर्थतन्त्र चलायमान बनाउने लक्ष्य

    अर्थमन्त्री वाग्लेले सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउँदै मुलुकको अर्थतन्त्र चलायमान बनाउन खोजेको बताए ।

    सरकारको लक्ष्य कर तथा राजस्व संकलनमा मात्र सीमित नभई निजी क्षेत्रको लगानी र आर्थिक गतिविधि बढाएर करिब ६६ खर्बको अर्थतन्त्रलाई थप गतिशील बनाउनु रहेको उनले बताए ।

    उनले आगामी दिनमा प्रवासी नेपालीलाई समेत नेपालमा लगानी गर्न सहज वातावरण निर्माण गर्ने गरी सरकारले आवश्यक पहल अघि बढाउने जानकारी दिए ।

    अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक अवस्था सुधार गर्न आन्तरिक स्रोत परिचालन, निजी क्षेत्रको लगानी विस्तार र प्रवासी नेपालीको लगानी भित्र्याउने वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page