logo

शुक्रबार, साउन २९ २०८३

kantipurpationlinetv

२०८३ साउन २९ शुक्रबार

नायक बन्दै गोरखाका सन्तोष थापा : कमेडीबाट चलचित्रको पर्दासम्म

नायक बन्दै गोरखाका सन्तोष थापा : कमेडीबाट चलचित्रको पर्दासम्म


  • शुक्रबार, साउन २९ २०८३
  • 1.4K
    SHARES

    काठमाडौं । गोरखाको पालुङटार नगरपालिका–६, कालामाटाका कमेडियन तथा चरित्र कलाकार सन्तोष थापा अब चलचित्रको पर्दामा देखिने भएका छन्।

    सुदर्शन थापाको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘शुभ विवाह’ मार्फत सन्तोषले औपचारिक रूपमा चलचित्र यात्रा सुरु गर्न लागेका हुन्। निर्माण पक्षले बिहीबार पत्रकार सम्मेलनमार्फत चलचित्रको शीर्षक, कलाकार तथा प्राविधिक टोली सार्वजनिक गरेको हो। चलचित्र प्रियादर्शन फिल्म्सको ब्यानरमा निर्माण हुनेछ।

    रोमान्टिक कथावस्तुमा आधारित चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा रहनेछन्। उनीहरूसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहनेछ।

    कमेडीको मञ्चबाट दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाएका सन्तोषका लागि ‘शुभ विवाह’ चलचित्र यात्रा नयाँ चुनौतीसँगै महत्वपूर्ण अवसर बनेको छ। उनी ‘कमेडी च्याम्पियन’ सिजन–२ मा सहभागी हुँदै उत्कृष्ट तीनसम्म पुगेर चर्चामा आएका थिए। कमेडी च्याम्पियनको यात्रामा विभिन्न चरित्र तथा हास्य प्रस्तुतिमार्फत दर्शकको मन जितेका सन्तोषले विशेषगरी आफ्नो प्रस्तुति शैली, बोली र चरित्र निर्वाह गर्ने क्षमताका कारण छुट्टै पहिचान बनाएका थिए। पछिल्लो समय उनी विभिन्न हास्य कार्यक्रम तथा प्रस्तुतिमार्फत पनि सक्रिय छन्। अब भने उनी आफ्नो अभिनय क्षमता ठूलो पर्दामा प्रस्तुत गर्ने तयारीमा छन्।

    चलचित्र यात्रालाई लिएर सन्तोष उत्साहित छन्। विशेष कथा, नयाँ पात्र र नयाँ उत्साहका साथ आफू चलचित्र क्षेत्रमा अघि बढ्न लागेको उनले बताएका छन्। ‘विशेष कथा, नयाँ पात्र र नयाँ उत्साहका साथ फिल्म यात्रा तय भएको छ। आत्मविश्वास र दर्शकहरूको मायाको अपेक्षा छ,’ सन्तोषले भने।

    गोरखाको पालुङटार–६, कालामाटाबाट मनोरञ्जन क्षेत्रमा अघि बढेका सन्तोषले कमेडीमार्फत बनाएको लोकप्रियतालाई अब चलचित्र अभिनयमा विस्तार गर्न लागेका हुन्। उनका लागि ‘शुभ विवाह’ कमेडीको मञ्चबाट चलचित्रको पर्दासम्म पुग्ने महत्वपूर्ण खुड्किलो बनेको छ।

    कमेडीमार्फत दर्शक हँसाउँदै परिचित बनेका सन्तोष अब फरक पात्र र भूमिकामा कस्तो देखिनेछन् भन्ने चासो उनका दर्शकमाझ बढेको छ। ‘शुभ विवाह’ मार्फत सुरु हुन लागेको उनको चलचित्र यात्राले आगामी दिनमा उनको कलाकारितालाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page