logo

शुक्रबार, साउन २९ २०८३

kantipurpationlinetv

२०८३ साउन २९ शुक्रबार

दोहोरी मोडल नारायणी खत्री अब ठूलो पर्दामा, ‘यानीमाया’बाट फिल्मी यात्रा सुरु

दोहोरी मोडल नारायणी खत्री अब ठूलो पर्दामा, ‘यानीमाया’बाट फिल्मी यात्रा सुरु


  • शुक्रबार, साउन २९ २०८३
  • 98
    SHARES

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा दोहोरी तथा म्युजिक भिडियोमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल मोडल नारायणी खत्री अब ठूलो पर्दामा देखिने भएकी छन् । उनी अभिनेता पल शाहको निर्माणमा बन्न लागेको चलचित्र ‘यानीमाया’ मार्फत फिल्मी यात्रामा प्रवेश गर्न लागेकी हुन् ।

    चलचित्रको छायांकन शुक्रबारदेखि काठमाडौंको गागलफेदीस्थित फिल्म स्टुडियोबाट सुरु भएको छ । छायांकनअघि शुभमुहूर्त समारोह आयोजना गरी फिल्म युनिटले क्यामेरा तथा स्क्रिप्टको पूजा गरेको थियो ।

    चलचित्रको छायांकन ३५ दिनसम्म चल्ने निर्माण पक्षले जनाएको छ । ओम प्रतीकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रमा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, सङ्गीता थापा, विशाल पुलामी र नारायणी खत्रीलगायत कलाकारको अभिनय रहनेछ ।

    चलचित्रमा शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारका रूपमा देखिनेछन् ।

    नारायणीले सामाजिक सञ्जालमार्फत ‘यानीमाया’बाट आफूले फिल्मी यात्रा सुरु गर्न लागेको जानकारी दिएकी छन् । उनले आफ्नो सपना र यात्रामाथि विश्वास गर्दै चलचित्रमा अवसर दिएकोमा अभिनेता पल शाहप्रति आभार व्यक्त गरेकी छन् ।

    साउन महिना आफ्नो जन्ममहिना भएकाले यही महिनाबाट नयाँ यात्राको सुरुवात गर्न पाउँदा यो समय आफ्नो जीवनमा विशेष र अविस्मरणीय बनेको नारायणीले उल्लेख गरेकी छन् । उनले आमाबुबालाई सम्झँदै आफ्नो नयाँ यात्राका लागि शुभेच्छा र आशीर्वादसमेत मागेकी छन् ।

    ‘यानीमाया’ सामाजिक प्रेमकथामा आधारित चलचित्र हुने निर्माण पक्षले जनाएको छ । चलचित्रमा चन्द्रज्योति आले र पल शाहको लगानी रहनेछ ।

    चलचित्रको डीओपी नवराज उप्रेती, एक्सन कुमार महर्जन, मुख्य सहायक निर्देशन गिरिराज घिमिरे र सम्पादन भूपेन्द्र अधिकारीले गर्नेछन् ।

    निर्माण पक्षले चलचित्रलाई फागुन ७ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरेको छ ।

    लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय नारायणीले विभिन्न म्युजिक भिडियो तथा दोहोरीमार्फत दर्शकमाझ आफ्नो पहिचान बनाउँदै आएकी छन् । अब ‘यानीमाया’मार्फत ठूलो पर्दामा उनको अभिनय यात्रा सुरु हुन लागेको हो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page