काठमाडौं । ‘आमा तिम्रो दुःख नसुनेकी हुँ र मैले, आमा तिम्रो दुःख नदेखेकी हुँ र मैले’ बोलको तीज गीत पछिल्लो समय टिकटकदेखि युट्युबसम्म चर्चामा छ । आमाको पीडा र त्यागलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको गीतले दर्शक–श्रोताको मन जितिरहेको छ ।
करिब पाँच वर्षपछि पुनः दोहोरी तथा म्युजिक भिडियोको क्षेत्रमा फर्किएकी मोडल रञ्जिता गुरुङको जीवन्त अभिनयका कारण गीत थप चर्चामा आएको हो । अमेरिकामा बस्दै आएकी गुरुङ नेपाल आएको समयमा गीतको भिडियोमा अभिनय गरेकी हुन् ।
जापानमा बस्दै आएका सर्जक विशाल क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा गायिका अञ्जिता विश्वकर्माको स्वर छ । गीतको भिडियोमा रञ्जिता गुरुङसँगै आमाको भूमिकामा रश्मि भट्टले अभिनय गरेकी छन् । बालकलाकारका रूपमा श्रीष्टी खड्कीलाई देख्न सकिन्छ ।
गीतले एउटी छोरीले आमाले विगतमा भोगेको दुःख, संघर्ष र पीडालाई नजिकबाट महसुस गरेको कथा प्रस्तुत गर्छ । आमाको जीवनमा आइपरेका दुःखलाई अर्को महिलाले अझ गहिरो रूपमा बुझ्न सक्छ भन्ने भाव गीतका शब्द र दृश्यमा प्रस्तुत गरिएको छ ।
विशाल क्षेत्री लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय सर्जक हुन् । संगीतमा भविष्य खोज्दै संघर्ष गर्ने क्रममा उनका सिर्जनाले चर्चा पाए पनि अपेक्षाअनुसार अवसर नपाएपछि उनी रोजगारीका लागि जापान पुगेका थिए । खुमन अधिकारी र खेम सेन्चुरीलगायतसँगै बसेर संगीत क्षेत्रमा संघर्ष गरेका क्षेत्रीले प्रवासमा रहेर पनि सिर्जनालाई निरन्तरता दिँदै आएका छन् ।
जापानमा रहेर उनले आफ्नै लगानीमा दर्जनौं गीत बजारमा ल्याइसकेका छन् । उनका अनुसार हालसम्म उनका करिब तीन सयभन्दा बढी गीत सांगीतिक बजारमा आइसकेका छन् । आमाको कथा, नेपाली समाज, प्रवासमा रहेका नेपालीको जीवन र देशप्रतिको भावनासँग जोडिएका उनका सिर्जना सार्वजनिक हुँदै आएका छन् ।
यता गायिका अञ्जिता विश्वकर्मा पछिल्लो समय नेपाली लोकसंगीत क्षेत्रमा चर्चामा रहेकी गायिका हुन् । उनको स्वरमा सार्वजनिक भएका गीतले दर्शक–श्रोताको राम्रो साथ पाइरहेका छन् । ‘आमा तिम्रो दुःख’मा उनको भावपूर्ण स्वरले गीतको संवेदनालाई थप प्रभावकारी बनाएको छ ।
आमाको माया, त्याग र पीडालाई केन्द्रमा राखिएको ‘आमा तिम्रो दुःख’ अहिले सामाजिक सञ्जालमा समेत व्यापक रूपमा शेयर भइरहेको छ । गीतले आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्दै धेरै दर्शकलाई आफ्नै जीवनसँग जोडिएको अनुभूति गराएको छ ।
विशाल क्षेत्रीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोले पछिल्लो समय राम्रो चर्चा बटुलिरहेको छ ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु