logo

शुक्रबार, भाद्र २६ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २६ शुक्रबार

रसुवा बाढीपीडितका लागि समाजसेवी सरोज न्यौपानेको पहलमा ५४५ परिवारलाई राहत

रसुवा बाढीपीडितका लागि समाजसेवी सरोज न्यौपानेको पहलमा ५४५ परिवारलाई राहत


  • मंगलबार, भाद्र २३ २०८३
  • 0.8K
    SHARES

    काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित भई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आफन्त तथा चिनजानका व्यक्तिको आश्रयमा बस्दै आएका ५४५ घरपरिवारलाई समाजसेवी सरोज न्यौपानेको पहलमा राहत सामग्री वितरण गरिएको छ ।

    बाढीपीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा, खाना पकाउने भाँडाकुँडा तथा दैनिक जीवनयापनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो । प्रभावित जिल्लामै राहतका कार्यक्रम केन्द्रित भइरहेका बेला काठमाडौंमा आश्रय लिएर बसेका पीडित परिवार राहतबाट वञ्चित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरू बसेकै स्थानमा पुगेर राहत वितरण गरिएको न्यौपानेले बताए ।

    बाढीपछि पीडितको आवश्यकता पहिचानदेखि राहत व्यवस्थापनसम्मका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पूर्वाधार विकाससम्बन्धी निकाय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लबलगायत विभिन्न निकायसँग निरन्तर समन्वय गर्दै आएको न्यौपानेको भनाइ छ ।

    राहत अभियानको नेतृत्व गरिरहेका न्यौपाने स्वयं भने बाढीका कारण गहिरो व्यक्तिगत पीडामा छन् । बाढीमा उनका परिवारका १० जना सदस्य अझै बेपत्ता छन् । आफ्नै परिवारका सदस्यको अवस्था अज्ञात रहे पनि व्यक्तिगत पीडालाई थाती राखेर उनी बाढी प्रभावितको उद्धार, राहत तथा व्यवस्थापनमा निरन्तर खटिँदै आएका छन् ।

    विशेषगरी रसुवाको उत्तरगया क्षेत्रका बाढी प्रभावित परिवारले राहत प्राप्त गरेका छन् । बाढीका कारण घर, व्यवसाय तथा दैनिक जीवनयापनमा ठूलो क्षति व्यहोरेका उनीहरू काठमाडौंमा आफन्तको आश्रयमा बसिरहेका छन् । कतिपय परिवार दिवंगत आफन्तको किरिया कर्ममा समेत रहेका बेला राहत उपलब्ध गराइएकाले दुःखको समयमा केही सहज भएको पीडितहरूले बताएका छन् ।

    राहत वितरणका क्रममा न्यौपानेले बाढी प्रभावित नागरिकको पीडामा सकेसम्म मलम लगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । “बाढी प्रभावितको पीडामा मलम लगाउन र कठिन अवस्थामा रहेका परिवारलाई केही सहज बनाउन कुनै कसर बाँकी राख्ने छैनौँ,” उनले भने ।

    उनले काठमाडौंमा आश्रय लिएर बसिरहेका बाढी प्रभावित परिवारको अवस्था बुझ्दै आवश्यक सहयोगलाई निरन्तरता दिने र वास्तविक पीडितसम्म राहत पुर्‍याउन सरकारी निकाय, सामाजिक संघसंस्था तथा सहयोगीहरूसँग थप समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । गास, बास र कपासको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले आफू निरन्तर सक्रिय रहने उनको भनाइ छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page