logo

शुक्रबार, भाद्र २६ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २६ शुक्रबार

बाढीपीडितको घाउमा मलम लगाउँदै द राइजिङ युथ क्लब, रसुवादेखि नुवाकोटसम्म उद्धार र राहतमा सक्रिय

बाढीपीडितको घाउमा मलम लगाउँदै द राइजिङ युथ क्लब, रसुवादेखि नुवाकोटसम्म उद्धार र राहतमा सक्रिय


  • शुक्रबार, भाद्र २६ २०८३
  • 28
    SHARES

    काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीपछि द राइजिङ युथ क्लब उद्धार, राहत तथा पुनःस्थापनाका काममा सक्रिय भएको छ । विगतदेखि नै सामाजिक सेवामा क्रियाशील क्लबले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर प्रत्यक्ष रूपमा सहयोग गरिरहेको हो ।

    बाढीबाट बढी प्रभावित रसुवामा क्लबले राहत वितरणसँगै उद्धारका काममा समेत सहयोग गरेको थियो । क्लबले रसुवाको उत्तरगया गाउँपालिका तथा कालिका गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा पुगेर बाढी प्रभावित नागरिकका लागि खाद्यान्न, लत्ताकपडालगायत करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको थियो ।

    रसुवापछि नुवाकोट पुगेको क्लबको टोलीले देवीघाटलगायतका प्रभावित क्षेत्रमा सरसफाइ तथा पुनःस्थापनाको काम अघि बढाएको छ । नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक सेवा आश्रम बाढीपछि लामो समयसम्म हिलो र पानीले भरिएको अवस्थामा थियो ।

    क्लबका अध्यक्ष सुरेश डंगोलको नेतृत्वमा करिव ६० जना युवाहरुसहित पुगेको टोलीले आफ्नै पहलमा स्काभेटरको व्यवस्था गरी आश्रममा थुप्रिएको हिलो पन्छाउने, बाटो खोल्ने तथा पानीको निकास गर्ने काम गरेको छ ।

    ‘देवीघाटको वृद्धाश्रम बाढीपछि यतिका दिनसम्म अलपत्र अवस्थामा थियो । हामीले स्काभेटर ल्याएर यहाँको हिलो पन्छाउने काम गर्‍यौँ,’ अध्यक्ष डंगोलले भने ।

    क्लबले बाढी पसेका तर बस्न मिल्ने घरहरूमा समेत सरसफाइ गरिरहेको छ । प्रभावित क्षेत्रमा कतिपय काम स्काभेटरमार्फत र कतिपय स्थानमा युवाहरू बेल्चा, साबेललगायतका सामग्री प्रयोग गरेर आफैँ खटिएका छन् ।

    ‘यो बेला कसले गर्‍यो, कसले गरेन भनेर आलोचना गर्ने समय होइन । आफूले सकेको सहयोग गर्ने समय हो,’ डंगोलले भने, ‘बाढीपछि हामी साथीहरू मिलेर उद्धार र राहतमा खटिएका छौँ । कतिपय ठाउँमा आफैँ स्काभेटर ल्याएर काम गरिरहेका छौँ भने कतिपय स्थानमा बेल्चा र साबेल चलाएर सरसफाइ गरिरहेका छौँ ।’

    राइजिङ युथ क्लबले यसअघि पनि विभिन्न प्राकृतिक विपत्तिमा उद्धार तथा राहतका काम गर्दै आएको छ । २०७२ सालको भूकम्प, मेलम्ची बाढीपहिरोलगायतका विपत्तिमा समेत क्लबले प्रभावित क्षेत्रमा पुगेर सहयोग गरेको जनाएको छ ।

    करिब पाँच हजारभन्दा बढी युवा आबद्ध क्लबले विपत्तिमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर उद्धार, सरसफाइ र पुनःस्थापनाका कामलाई निरन्तरता दिँदै आएको छ । क्लबले आगामी दिनमा पनि विपद्बाट प्रभावित नागरिकको सहयोगमा सक्रिय रहने जनाएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page