काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति काठमाडौंले विश्वकर्मा बाबाको पूजाको अवसर पारेर ‘संगीत प्रशिक्षण कक्षा’ शुभारम्भ गरेको छ । उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो । रायमाझीले वाद्यवादन सामग्रीको पूजा गरी हारमोनियम बजाउँदै तथा लोकस्वर सम्राट राजु परियारसँग गीत प्रस्तुत गर्दै प्रशिक्षण कक्षाको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, पूर्वकेन्द्रीय अध्यक्ष दुर्गा रायमाझी, केन्द्रीय उपाध्यक्ष दीपक खड्का, महासचिव शिव हमाल, सहसचिव ईश्वरी प्रसाद भुसाल, केन्द्रीय सदस्य सुजन लम्साल, कुमार रानामगर, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी, समाजसेवी लक्ष्मण मल्ललगायतको उपस्थिति थियो । उपत्यका समन्वय समितिअन्तर्गतका १० वटा समितिका अध्यक्ष तथा प्रतिनिधिसमेत कार्यक्रममा सहभागी थिए ।
प्रशिक्षण कक्षाका लागि समाजसेवी तथा संगीतप्रेमी लक्ष्मण मल्लले विभिन्न वाद्यवादनका सामग्री सहयोग गरेका छन् । आवश्यक परे थप सामग्रीसमेत सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् । उपत्यका समन्वय समितिका अध्यक्ष लामिछानेका अनुसार प्रशिक्षण कक्षा ६ महिनाको आधारभूत कार्यक्रमका रूपमा सञ्चालन हुनेछ । गायनतर्फ नरहरि प्रेमी र वाद्यवादनतर्फ ईश्वरी प्रसाद भुसाललगायतका प्रशिक्षकले प्रशिक्षण दिनेछन् ।
कलाकारलाई संगीतसम्बन्धी आधारभूत ज्ञान आवश्यक हुने भएकाले प्रशिक्षण कक्षा सञ्चालन गरिएको अध्यक्ष लामिछानेले बताए । संगीत सिक्न इच्छुक कलाकारलाई अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको उनको भनाइ छ ।
कार्यक्रममा राजु परियारले पछिल्लो समय सांगीतिक क्षेत्रमा सुरतालको ज्ञानको अभाव देखिन थालेको बताए । प्रत्यक्ष तथा आधिकारिक प्रस्तुतिमा समेत सुरतालको कमी महसुस हुने गरेको उल्लेख गर्दै उनले कलाकारले संगीतको ज्ञान लिन आवश्यक रहेको धारणा राखे । प्रशिक्षण कक्षाबाट धेरै कलाकार उत्पादन हुने विश्वास व्यक्त गर्दै परियारले आफूले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रमुख अतिथि नारायण रायमाझीले लोक कलाकारले सुरतालसँगै आधारभूत औपचारिक ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए । सिकाइ कहिल्यै पूरा नहुने भन्दै उनले कलाकारले निरन्तर सिक्नुपर्ने बताए । पहिले संगीत सिक्नका लागि पर्याप्त अवसर नहुने अवस्था रहे पनि अहिले इच्छाशक्ति भए जहाँबाट पनि सिक्न सकिने अवस्था रहेको उनले उल्लेख गरे ।
संगीतको औपचारिक ज्ञान नहुँदा लोक कलाकारले विभेद तथा हेपाइ सहनुपर्ने अवस्था आउने गरेको बताउँदै रायमाझीले ज्ञान र सीप हासिल गरेपछि कलाकारका लागि अवसरसमेत बढ्ने बताए । उनले नयाँ पुस्ताका कलाकारले प्रशिक्षणमार्फत आफ्नो क्षमता विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह