logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

‘रिमै’ले नेपाली सिनेमामा फरक आयाम ल्याउनेछ: दयाहाङ राई

‘रिमै’ले नेपाली सिनेमामा फरक आयाम ल्याउनेछ: दयाहाङ राई


  • शुक्रबार, भाद्र १२ २०८२
  • 14.9K
    SHARES

    काठमाडौं – अभिनेता दयाहाङ राईले आगामी चलचित्र ‘रिमै’ नेपाली सिनेमामा फरक आयाम थप्ने दाबी गरेका छन्। मंगलबार पत्रकारसँगको अन्तरक्रियामा बोल्दै उनले गुरुङ समुदायको कला, संस्कृति र जीवनदर्शन प्रस्तुत गर्ने प्रयास भएकाले यो फिल्म विशेष हुने बताए।

    दयाहाङका अनुसार चलचित्रमा गुरुङ समुदायको भेषभूषा, संस्कार र जीवनशैलीलाई गहिराइका साथ उतारिएको छ। “राई, लिम्बु, मगर, थकाली, शेर्पा, गुरुङ समुदायबीच केही समानता देखिए पनि यथार्थमा फरक छन्। ‘रिमै’ले त्यसलाई प्रष्ट पार्नेछ,” उनले भने।

    उनले चलचित्रमा सोल्टा–सोल्टिनीको सम्बन्ध प्रस्तुत भए पनि ‘कबड्डी’सँग तुलना नगर्न आग्रह गरे। “नाता त उस्तै लाग्ला तर कथा फरक छ। नाम मिल्छ, तर भावना र घटनाक्रम बिलकुलै अर्कै छन्,” दयाहाङले स्पष्ट पारे।

    अभिनेत्री रिश्मा गुरुङले यो फिल्म आफ्नै समुदायको कथा भएकाले आफैंलाई आकर्षित गरेको बताइन्। करिब एक दशकपछि स्क्रिनमा फर्किएकी उनले भनिन्, “यदि गुरुङ समुदायको कथा नभएको भए, म यो फिल्म नगर्ने थिएँ। आफ्नै संस्कार–संस्कृति समेटिएको भएकाले व्यस्तताबीच पनि म काम गर्न तयार भएँ।”

    फिल्मको छायांकन चरणमा आर्थिक र प्राविधिक समस्या आए पनि टोलीले चुनौती पार गरेको दयाहाङले स्मरण गरे। अमेरिकामा बसोबास थालेका केही कलाकारले पनि आफ्ना काम छाडेर फिल्मका लागि समय दिएका थिए।

    खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘रिमै’ आगामी भदौ २० गतेबाट रिलिज हुँदैछ। गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्राली र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको यसमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङलगायत कलाकारको अभिनय रहेको छ।

    फिल्मको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका हुन्। दीपक शर्मा र थानेश्वर गौतमको संगीत रहेको यसमा कार्यकारी निर्माता वीरबल घले छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page