logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

धुर्मुस सुन्तली अमेरिका भागेको हल्लापछि अमेरिकाबाटै भावुक बकपत्र :छोरीलाई प्राणघातक रोग लागेको खुलासा

धुर्मुस सुन्तली अमेरिका भागेको हल्लापछि अमेरिकाबाटै भावुक बकपत्र :छोरीलाई प्राणघातक रोग लागेको खुलासा


  • शुक्रबार, मंसिर २६ २०८२
  • 8.6K
    SHARES

    कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली आफनो छोरी लिएर अमेरिका पुगेका छन् । कतिपयले भने गौतम बुद्ध क्रिकेट रंगशालाको विवाद थाँति राखेर अमेरिका भागेको पनि आरोप पनि लगाउन भ्याए । यसैसन्दर्भमा नेपालबाट छोरी सुविहानीको जटिल उपचारका लागि उनी केही दिनअघि स–परिवार अमेरिका गएका धुर्मशले बताएका छन । अमेरिकाबाटै सामाजिक सञ्जालमा लामो बकपत्र लेख्दै धुर्मुसले रंगशाला निर्माणका क्रममा व्यहोरेको दुःख र अमेरिका आउनुको पृष्ठभूमि वर्णन गरेका छन् ।

    छोरीको निःशुल्क उपचार सुविधा पाएकाले अमेरिका आएको भन्दै उनले उपचार सकेर नेपाल फर्किने बताएका छन् । उनले फेसबुकमा लेखका छन आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरु अहिले पनि १८ करोड ४३ लाख रुपैयाँ आर्थिक दायित्वको बोझ हाम्रो टाउकोबाट उत्रिएको छैन । सरकारी कार्यालयदेखि अड्डा–अदालतहरुको चक्कर लाउँदा–लाउँदा हत्तु हैरान भइसकेका छौ । हामी पूर्णरुपमा रित्तिएका छौं ।

    केवल याचना बाँकी छ । र बाँकी छ, आफ्नो इमान्दारिता र असल नियतप्रतिको दृढ विश्वास । हो, हामीले रंगशाला निर्माणलाई टुंगोमा पु¥याउन सकेनौं । तर, सबै प्रयास त लगाएका हौं नि । जनसहयोग जुटाएर करिब ६० करोड रुपैयाँ बराबरको सम्पति राज्यलाई दिएका पनि त हौं नि । के हाम्रो कामको अलिकति पनि सकारात्मक मूल्यांकन हुनु पर्दैन ? के हामीले प्रेमप्रसाद आचार्यझैं न्यायका लागि सिंहदरबार अगाडि आत्मदाह नै गर्नुपर्ने थियो ?

    म क्रिकेट नबुझ्ने मान्छे थिएँ । देश–विदेशका थुप्रै क्रिकेट खेलाडीहरु चिन्थेँ, तर क्रिकेटको बारेमा केही ज्ञान थिएन । फुटबल हेर्न बारम्बार रंगशाला जाने गरे पनि क्रिकेट कहिल्यै प्रत्यक्ष हेरेको थिइनँ । जब नेपालले एकदिवसीय राष्ट्रको मान्यता पायो, देशमा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको माग चौतर्फी रुपमा सुनियो । क्रिकेटको यति ठूलो क्रेज भएको देशमा एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला नहुनु साँच्चै बिडम्बनाको स्थिति थियो । यद्यपि, हामीले आफ्नो अगूवाइमा क्रिकेट रंगशाला निर्माण गर्ने योजना बनाएका थिएनौं ।

    केही समयअघि मात्र हामीले आफ्नो एक मात्र छोरी सुविहानीको शारीरिक समस्या सार्वजनिक गर्यौ, जुन अहिलेसम्म लुकाएर राखेका थियौं । अहिले हामी वाध्य हुनु परेको हो, यो विषय बाहिर ल्याउन, किनकी रंगशालाकै उल्झनले छोरीलाई उपचारका लागि लैजान ढिलाइ भइरहेको थियो ।म सिहंदरबार परिक्रमा गरिरहँदा छोरीको स्वास्थ्य क्रिटिकल बन्दै गयो । जन्मेको १६ दिनदेखी म्यानेन्जाईटिस जस्तो प्राणघातक रोगको शिकार भए संगै घुँडाको हड्डीमा समेत ईन्फेक्सन भएर दाहीने खुट्टाको घुँडाको कुर्कुरे हड्डी किटाणुले खाइदियो । उनको हाईट जति समय सम्म बढ्छ त्यती समय सम्म डक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्ने  भन्ने डाक्टरको सल्लाहअनुसार पाटन हस्पिटलमा एक महिनाको बसाई सकेर १२ बर्ष अगाडी  घर फर्केका थियौं । अब छोरी फाल्गुनमा १३ लाग्छिन् । अहिले छोरीको दाहिने खुट्टा देब्रे खुट्टा भन्दा ७ सेन्टिमिटर सानो छ ।

    उनी ४ बर्षको हुँदा उनको दाहिने खुट्टा बाङ्गो भएर नबढोस भनेर साईडबाट बढने हड्डी रोक्न दाहिने घुँडामा अप्रेशन गरेर भित्र स्टिल राखिएको थियो, जुन स्टिल निकाल्न अनि छोटो खुट्टाको हड्डी तन्काउने उपचार गर्न ३,४ बर्ष ढिला भईसकेको थियो । अहिले उनलाई हिड्नमा धेरै समस्या भईसकेको, हिपको जोईन्टमा उठ्दा बस्दा दुख्न थालेको छ  । यो हड्डी तन्काउने उपचार लामो अनि एकदम कष्टकर छ  । बाबु–आमाको लागि सन्तानभन्दा ठूलो के हुन्छ ? आफ्नो छोरीले अरुका छोराछोरीजस्तो कुद्न र खेल्न नसक्दा बाबुआमाको मन कति बिचलित होला ? त्यसैले सबै कुरा थाँती राखेर केही समय छोरीको उपचारका लागि हामी अमेरिकामा आएका छौं ।
    यहाँ ल्याउनुको पनि अर्को पृष्ठभूमि छ । छोरीलाई हामीले नेपालका थुप्रै अस्पतालमा लग्यौं । भारत पनि पु¥यायौं । सबैले यसको सबैभन्दा सुरक्षित÷उच्च प्रविधी सहितको उपचार अमेरिकामा हुने सुझाव दिनुभयो । तर, हाम्रो आर्थिक हैसियतले अहिले यो सम्भव थिएन ।

    नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्नसक्ने कुनै आधार नभेटेपछि ‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा हामीले तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन गरेका थियौं नेपालबाटै । यो विभिन्न विधाका असाधारण क्षमता भएकाहरुका लागि  दिइने स्थायी बसोबास अनुमतीपत्र हो ।
    यो कार्डमा आएपछि  कम आम्दानी भएका बाबुआमाका  बच्चाका लागि निशूल्क उपचार सुविधा हुने रहेछ इन्सुरेन्स÷ मेडिकेडमार्फत । यसअघि कुन्जनाको कोखमा रहेको हाम्रो दोस्रो बच्चा ‘स्ट्रेस’ कै कारण खेर गएको थियो । भएकी एक मात्र सन्तानको हकमा हामीले कुनै जोखिम लिन चाहेनौं । उनको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरीमा’ एप्लाइ गर्ने निर्णय लिएका थियौं ।
    हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन । छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौं । तर, रंगशालाको उल्झनबाट मुक्ति नपाउँदासम्म हामीले नेपालमा न काम गरेर खान सक्ने, न चैनसित निदाउन सक्ने अवस्था रह्यो । हाम्रो यति चाहना छ, कि रंगशालाको समस्या समाधान भएर हामीले नेपालमै कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस ।

    हामी अमेरीका आएको विषयलाई लिएर भ्रामक प्रचारवाजी र हल्लाको व्यापार पनि शुरु भइसकेछ  । जुन कुरा हामी सार्वजनिक गर्ने नै थियौँ । अहीले हामी नितान्त छोरीको उपचारमा केन्द्रित थियाँै । छोरीको उपचारको प्रक्रिया पनि शुरु भएको छ, हामी निरन्तर अपडेट पनि गर्नेछौ ।  न त हामीले अमेरीकामा कुनै ब्यवसाय शूरु गरेको छौ न त कुनै लगानी नै छ । भ्रमको खेती गर्नेलाई धन्यवाद भन्नुवाहेक हामीसंग अरु कुनै शब्द छैन । अतः भ्रामक प्रचारवाजी र हल्लाको पछि नलागी  दिनुहुन सबैलाई बिनम्र अनुरोध गर्दछौं । दुरिका हिसावमा टाढा भएपनि पनि हामी तपाईंहरुबीचमै छौं । सामाजिक सञ्जालले हामीलाई निरन्तर जोड्ने नै छ । अहिलेलाई हामी छोरीको सुरक्षित र सफल उपचारका लागि यहाँहरु सबैको आशीर्वाद चाहन्छौं ।मुख्य कुरा हामीलाई रंगशालाको समस्याबाट मुक्ति दिएर कलाकारितामा फर्किने वातावरण राज्यले सिर्जना गरिदियोस्, नेपाल सरकारलाई हाम्रो विनम्र अनुरोध  !


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page