logo

आइतबार, असार ७ २०८३

kantipurpationlinetv

२०८३ असार ७ आइतबार

नुवाकोटमा ९ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता भव्यताका साथ सम्पन्न, निशान्त र संगिना विजेता

नुवाकोटमा ९ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता भव्यताका साथ सम्पन्न, निशान्त र संगिना विजेता


  • सोमबार, असार १ २०८३
  • 4.3K
    SHARES

    नुवाकोट — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ९ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता नुवाकोटको विदुर नगरपालिकास्थित इलम प्रशिक्षण केन्द्रमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

    तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने समापन समारोह विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। समापन समारोहमा नगर उपप्रमुख प्रभा बोगटी, प्रतिष्ठानका पूर्व अध्यक्ष तथा संरक्षकहरू, नुवाकोटका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, लोकदोहोरी कलाकार तथा सांस्कृतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    प्रतियोगितामा देशभरिबाट छनोट भएका १८ उत्कृष्ट समूहले सहभागिता जनाएका थिए। सातै प्रदेशबाट छनोट भएका १४ समूह, उपत्यका समन्वय समितिका २ समूह तथा विदेश शाखाका २ समूहबीच प्रतिस्पर्धा भएको थियो।

    जसमा ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगिना थापा मगर प्रथम घोषित भए। उनीहरूले उपत्यका समन्वय समिति (ख) को प्रतिनिधित्व गर्दै फाइनल प्रतिस्पर्धामा अन्य १७ टोलीलाई पछि पार्दै उपाधि जित्न सफल भएका हुन्। विजेता जोडीले ट्रफी, प्रमाणपत्र, रनिङ शिल्डसहित नगद रु. ३ लाख प्राप्त गरेका छन्।

    त्यसैगरी सरोज सिंखडा र जमुना विश्वकर्मा द्वितीय हुँदै रु. २ लाख, मानव रावत क्षेत्री र भावना अर्याल तृतीय हुँदै रु. १ लाख तथा राजमान खत्री र शान्ता वलीले सान्त्वना पुरस्कारस्वरूप रु. ५० हजार प्राप्त गरेका छन्।

    विधागततर्फ उत्कृष्ट गायक राजु लामिछाने, उत्कृष्ट गायिका जमुना सुनार, उत्कृष्ट नव गायक विक्रम गहतराज, उत्कृष्ट नव गायिका शितल कल्पना विक घोषित भए। अनुशासित गायक बेल बहादुर परियार, अनुशासित गायिका शान्ति कार्की, उत्कृष्ट भेषभूषा पुरुषतर्फ प्रितम पोखरेल र महिलातर्फ सीता माझी घोषित भए।

    विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै लोकसंस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताइन्। उनले भनिन्, “यस्ता प्रतियोगिताले हाम्रो मौलिक संस्कृति संरक्षण मात्र होइन, नयाँ पुस्तालाई पनि लोकदोहोरीप्रति आकर्षित गर्ने काम गर्छ।”

    प्रमुख अतिथि नगर प्रमुख राजन श्रेष्ठले नुवाकोटमा देशभरिका कलाकारहरूको उपस्थिति स्वागतयोग्य रहेको बताउँदै प्रतियोगिताले जिल्लाको सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको धारणा व्यक्त गरे। उनले भने, “यो प्रतियोगिताले नुवाकोटको धार्मिक, ऐतिहासिक र सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा अझ उचाइमा पुर्‍याएको छ।”

    नेपाली लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता अपेक्षाभन्दा भव्य रूपमा सम्पन्न भएको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन्। कार्यक्रमको मूल समारोह संयोजक समेत रहेकी अध्यक्ष रीता थापा मगरले समापन कार्यक्रममा बोल्दै भनिन्, “यो प्रतियोगिता हाम्रो अपेक्षाभन्दा अझ भव्य र सफल रूपमा सम्पन्न भयो। सबै कलाकार, दर्शक र सहयोगी निकायप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

    कार्यक्रमको व्यवस्थापनमा सह–संयोजक प्रशासनिक उपाध्यक्ष दीपक खड्का, उप–संयोजक केन्द्रीय सदस्य उषा सुवेदी र कार्यक्रम निर्देशक उज्ज्वल जङ्ग ठकुरी रहेका थिए। सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, मञ्च व्यवस्थापन रामजी खाँण तथा अतिथि सत्कारको जिम्मेवारी राधिका हमाललगायतका कलाकारहरूले सम्हालेका थिए।

    करिब २० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको यस कार्यक्रमको मुख्य संरक्षक बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय रहेको थियो। त्यस्तै संरक्षकका रूपमा विदुर नगरपालिका र टोखा नगरपालिका रहेका थिए भने नुवाकोट उद्योग वाणिज्य सङ्घ प्रवर्द्धकका रूपमा रहेको थियो। प्रतियोगिताको मुख्य सहयोगी संस्थाका रूपमा नुवाकोट निर्माण व्यवसायी सङ्घले साथ दिएको थियो। प्रतियोगिताको अनुमानित बजेट ६८ लाख ४० हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ।

    प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page