logo

बुधबार, असार ३१ २०८३

kantipurpationlinetv

२०८३ असार ३१ बुधबार

सञ्चारगृहअगाडि सवारी तेर्स्याउनेको खोजी हुँदैछ, दोषी जो भए पनि कारबाही हुन्छ : सरकार

सञ्चारगृहअगाडि सवारी तेर्स्याउनेको खोजी हुँदैछ, दोषी जो भए पनि कारबाही हुन्छ : सरकार


  • बुधबार, असार ३१ २०८३
  • 98
    SHARES

    काठमाडौं । सञ्चारगृहका प्रवेशद्वारमा सवारीसाधन तेर्स्याएर अवरोध गर्ने व्यक्तिको पहिचानका लागि प्रहरीले अनुसन्धान गरिरहेको सरकारले जनाएको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले घटनामा संलग्न जोसुकै भए पनि प्रमाणका आधारमा कानुनी कारबाही गरिने बताएका हुन्।

    उनले घटनालाई सरकारसँग जोडेर लगाइएका आरोपको खण्डन गर्दै नेपाल प्रहरी संलग्न व्यक्तिहरूको खोजीमा रहेको बताए।

    ‘यदि सरकारले नै यस्तो गराएको भए गृह मन्त्रालयअन्तर्गतको नेपाल प्रहरीले नै अनुसन्धान गर्ने थिएन। अहिले प्रहरीले को–को संलग्न छन् भन्नेबारे अनुसन्धान गरिरहेको छ,’ उनले भने।

    प्रवक्ता पोखरेलले कुनै पनि राजनीतिक दल वा समूहका व्यक्ति कानुनभन्दा माथि नरहेको उल्लेख गर्दै सञ्चारगृहको कामकारबाहीमा अवरोध पुर्‍याउने गतिविधि स्वीकार्य नहुने बताए।

    घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताको संलग्नताको आशंका गरिएको विषयमा उनले कुनै पार्टी विशेषलाई लक्षित नगरी निष्पक्ष अनुसन्धान हुने र प्रमाणका आधारमा कारबाही गरिने स्पष्ट पारे।

    मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ।

    त्यसैगरी, सशस्त्र प्रहरी बलका विपद् खोज तथा उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने तथा बिउविजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

    ‘रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुन्छ’ : रवि लामिछाने

    उता, रास्वपा सभापति रवि लामिछानेले पनि सञ्चारगृह तथा अन्य स्थानका प्रवेशद्वारमा सवारीसाधन राखेर अवरोध गर्ने जोसुकै भए पनि कारबाही हुने बताएका छन्।

    मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सोमबारको घटनाप्रति रास्वपाले सुरुदेखि नै असहमति जनाएको र दोषीमाथि कारबाही हुनुपर्ने धारणा सार्वजनिक गरिसकेको बताए।

    ‘रास्वपाले सबैभन्दा पहिले विज्ञप्ति निकालेर घटनाको विरोध गरेको हो। हाम्रो पार्टीले आफ्नै सांसदमाथि ७२ घण्टाभित्र कारबाही गरेको इतिहास छ। त्यसैले रास्वपाकै कार्यकर्ता संलग्न भए पनि कारबाही हुन्छ,’ उनले भने।

    प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको पछिल्लो भेटबारे सोधिएको प्रश्नमा लामिछानेले सुकुमवासी समस्या, समसामयिक राजनीतिक अवस्था तथा पार्टीका विविध विषयमा छलफल भएको जानकारी दिए।

    सोमबार कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजनलगायत सञ्चारगृह तथा केही व्यापारिक प्रतिष्ठान र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घरअगाडि निजी नम्बर प्लेटका सवारीसाधन पार्किङ गरिएका थिए। प्रहरीले ती सवारीसाधन हटाएर जरिमाना गरे पनि कसले र किन त्यसरी पार्किङ गर्‍यो भन्नेबारे अनुसन्धान जारी छ।

    उक्त घटनापछि सञ्चारगृह र प्रेससम्बद्ध संघ–संगठनहरूले प्रेस स्वतन्त्रतामाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page