गोरखा — प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखाले असार महिनाभर जिल्लाका विभिन्न स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार, रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन तथा स्वास्थ्य प्रणाली सुदृढीकरणलाई केन्द्रमा राखेर विविध कार्यक्रम सञ्चालन गरेको छ। खोप, परिवार नियोजन, मातृ तथा नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, नसर्ने रोग नियन्त्रण, विद्यालय स्वास्थ्य प्रवर्द्धन तथा स्वास्थ्य संस्थाको अनुगमनलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार असार महिनामा गोरखालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। खोप कार्यक्रमलाई दिगो, प्रभावकारी र सर्वसुलभ बनाउने उद्देश्यले उक्त घोषणा गरिएको हो। यससँगै परिवार योजना सेवाको प्रभावकारी कार्यान्वयनका लागि टाकुमाझ–लाकुरीबोट स्वास्थ्य चौकीमा परिवार योजना सेवा सूक्ष्म योजना तर्जुमा तथा सुदृढीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
नसर्ने रोगको समयमै पहिचान र रोकथामका लागि मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयमा रुमाटिक हार्ट डिजिज (RHD) स्क्रीनिङ कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रमबाट ७५ जना लाभान्वित भएका छन्।
मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले जिल्ला कारागारमा रहेका १२९ जनालाई मानसिक स्वास्थ्य शिक्षा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ। त्यस्तै, आँखिपत्थल अस्पतालसँगको समन्वयमा खोप्लाङ स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क नसर्ने रोग तथा मानसिक स्वास्थ्य शिविरबाट २४७ जनाले सेवा प्राप्त गरेका छन्।
मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्र, गण्डकी गाउँपालिकामा प्रजनन स्वास्थ्य रुग्णताको एकीकृत स्क्रीनिङ तथा रोकथाम कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रमबाट १७४ जना लाभान्वित भएका छन्।
मातृ तथा नवजात शिशु स्वास्थ्य (MNH) सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी गाउँपालिकाको तालिमथोक स्वास्थ्य चौकीमा सेवा प्रदायक स्वास्थ्यकर्मीका लागि अनसाइट कोचिङ, मेन्टरिङ तथा गुणस्तर सुधार कार्यक्रम सञ्चालन गरिएको छ। साथै १५ जना स्वास्थ्यकर्मीलाई तीनदिने बेसिक हेल्थ सर्भिस तथा स्किल ट्रान्सफर (BHS/STP) तालिम प्रदान गरिएको कार्यालयले जनाएको छ।
स्वास्थ्य सूचना प्रणालीलाई थप विश्वसनीय र प्रभावकारी बनाउन जिल्लाका १० वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई सहभागी गराई डाटा भेरिफिकेसन तथा भ्यालिडेसन कार्यक्रम सम्पन्न गरिएको छ। यसैबीच गोरखा नगरपालिका, पालुङटार नगरपालिका, आरुघाट गाउँपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका तथा भीमसेनथापा गाउँपालिकामा सञ्चालित निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ।
सुर्तीजन्य पदार्थ तथा मदिरा नियमन तथा नियन्त्रणसम्बन्धी कानुनी व्यवस्थाको कार्यान्वयन अवस्थाबारे पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका र आरुघाट गाउँपालिकामा अनुगमन गरिएको कार्यालयले जनाएको छ। यसैगरी गोरखा नगरपालिकाका सात तथा पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाका एक–एक विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय प्रमाणीकरण तथा अनुगमन कार्यक्रम सम्पन्न गरिएको छ। साथै जिल्ला खानेपानी निगरानी समितिको बैठक तथा प्रजनन स्वास्थ्य समन्वय समिति (RHCC) को बैठकसमेत सम्पन्न भएको कार्यालयले जनाएको छ।
असार महिनामा आरुघाट गाउँपालिकामा पनि स्वास्थ्य प्रवर्द्धन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिकामा निःशुल्क छातीको एक्स–रे स्वास्थ्य शिविर आयोजना गरिएको थियो। यसका साथै पोषणमैत्री विद्यालय अवधारणासम्बन्धी अन्तरक्रिया, बालविवाह न्यूनीकरण तथा पोषणसम्बन्धी अन्तरक्रिया, विद्यालयमा जंक फुड न्यूनीकरणसम्बन्धी कार्यक्रम तथा किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको कार्यालयले जनाएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख डा. सिमृन काफ्लेले समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार, रोगको समयमै पहिचान तथा रोकथाम र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनका अनुसार स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म प्रभावकारी रूपमा पुर्याउने लक्ष्यका साथ खोप, मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, नसर्ने रोग नियन्त्रण तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
उनले स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै स्वास्थ्य सेवाको गुणस्तर सुधार, पहुँच विस्तार र जनस्वास्थ्यका कार्यक्रमलाई अझ परिणाममुखी बनाउने दिशामा कार्यालय निरन्तर क्रियाशील रहने बताइन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
राति ११ बजेपछि व्यवसाय बन्द गर्ने निर्णय फिर्ता लिन रात्रिकालीन व्यवसायीको माग
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी