लण्डन — कथावाचनबाट केही समय विश्राम लिएर गीत–संगीत तथा आध्यात्मिक यात्रालाई निरन्तरता दिइरहेकी बबिता बानियाँ ‘जेरी’ पछिल्लो समय बेलायतमा व्यस्त छिन्। यूकेका विभिन्न स्थानमा आयोजना भइरहेका सांगीतिक तथा सामाजिक कार्यक्रममा उनको सहभागिता बढेसँगै नेपाली समुदायमाझ उनको चर्चा पनि चुलिएको छ।
यसैक्रममा सापकोटा कल्याण केन्द्र यूकेले आयोजना गरेको कार्यक्रममा जेरीलाई नौमती तथा पञ्चेबाजासहित भव्य स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रममा यूकेका विभिन्न स्थानबाट नेपाली दर्शक, श्रोता तथा भक्तजनको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा बोल्दै सापकोटा कल्याण केन्द्र यूकेका अध्यक्ष गोविन्द सापकोटाले कला, कथा वाचन तथा गीत–संगीतका क्षेत्रमा स्थापित जेरीलाई आफ्नो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा स्वागत गर्न पाउनु संस्थाका लागि खुसीको विषय भएको बताए।
कथावाचनबाट विश्राम लिने निर्णयबारे यसअघि जेरीले धर्मका नाममा देखिएका केही विकृति र विसंगतिका कारण आफूले फरक बाटो रोजेको बताएकी थिइन्। अब भने सत्संग, भजन तथा गीत–संगीतलाई निरन्तरता दिने उनको योजना छ।
गीत–संगीतमा फर्किएपछि नयाँ उत्साह
कथावाचनमा सक्रिय रहँदा बनाएको परिचयसँगै जेरीको सांगीतिक यात्राले पनि पछिल्लो समय निरन्तरता पाएको छ। विशेषगरी यस वर्षको तीजलाई लक्षित गर्दै उनले सार्वजनिक गरेका गीतले दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेका छन्।
जेरीकै सिर्जनामा रहेको ‘फूलदेवीलाई जोवनदेवीलाई’ गीतले ठूलो संख्यामा दर्शकको ध्यान खिचेको छ। त्यस्तै ‘म त यस्तै छु त नि’ र ‘उज्यालो मेरो माइतीको आँगनी, आमा हुनाले’ लगायतका गीतले पनि दर्शक–श्रोताको साथ पाइरहेका छन्।
सांगीतिक क्षेत्रमा पुनः सक्रिय भएपछि उनलाई विभिन्न कार्यक्रमका लागि निमन्त्रणा आउने क्रम बढेको उनका निकटवर्तीहरू बताउँछन्। यूकेमा रहेका नेपाली संघ–संस्थाले पनि उनलाई आफ्ना कार्यक्रमहरूमा सहभागी गराउन चासो देखाइरहेका छन्।
यूकेका विभिन्न कार्यक्रममा सहभागिता
जेरीले यूकेमा रहँदा विभिन्न सांगीतिक तथा सामाजिक कार्यक्रममा सहभागिता जनाइसकेकी छन्। गोर्खाली समाज यूकेको वार्षिक भेलामा उनले सांगीतिक प्रस्तुति दिएकी छन्। कार्यक्रममा अन्य कलाकारले पनि प्रस्तुति दिएका थिए।
त्यस्तै, नेपालीज पोर्चुगिज भेला २०२६ मा समेत जेरीले विशेष सांगीतिक प्रस्तुति दिएकी थिइन्।
कार्यक्रमसँगै उनी यूकेका विभिन्न स्थानमा रहेका नेपाली समुदाय, शुभचिन्तक तथा प्रशंसकसँग भेटघाटमा पनि व्यस्त छिन्। यस क्रममा उनले अक्सफोर्ड विश्वविद्यालयको अवलोकन गर्नुका साथै बर्मिङ्घमस्थित पशुपतिनाथ मन्दिरको दर्शनसमेत गरेकी छन्।
यूके बसाइ लम्बिने सम्भावना
जेरीको यूके बसाइ केही समय लम्बिने सम्भावना रहेको बताइएको छ। उनका केही सांगीतिक कार्यक्रमहरू तय भइसकेका छन् भने थप कार्यक्रमका लागि पनि कुराकानी भइरहेको जनाइएको छ।
जेरीले पनि आफू यूके यात्राका क्रममा विभिन्न कार्यक्रमका लागि व्यस्त रहने बताएकी छन्। गीत–संगीतलाई आफ्नो आगामी यात्राको महत्वपूर्ण हिस्सा बनाउने उनको योजना छ।
सापकोटा कल्याण केन्द्र यूकेको कार्यक्रममा विश्व शान्ति दूत तथा अन्तर्राष्ट्रिय योग गुरु आचार्य राजन शर्माको समेत उपस्थिति थियो।
कथावाचनमा आफ्नो छुट्टै पहिचान बनाएकी जेरीको गीत–संगीतमा पुनरागमनलाई उनका शुभचिन्तकले सकारात्मक रूपमा लिएका छन्। पछिल्लो समय यूकेमा भइरहेको स्वागत, कार्यक्रम र दर्शकको सहभागिताले पनि उनको सांगीतिक यात्राप्रतिको चासो देखाएको छ।
अब कथावाचनको अनुभव र सांगीतिक सिर्जनालाई सँगसँगै अघि बढाउँदै जेरीले आफ्नो कलाकारिताको नयाँ अध्याय सुरु गरेकी छन्।
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला
-
कक्षा १२ सम्मका विद्यार्थीलाई हिमालयन कम्युनिटी प्रोजेक्टको नि:शुल्क हाइकिङ