काठमाडौं — नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को अध्यक्ष पदमा पर्यटन व्यवसायी तथा एभरेस्ट मिराकल ट्राभल्स एण्ड टुर्सका सञ्चालक भरतजंग पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्।
नेपालको पर्यटन उद्योगमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय पाण्डे पर्यटन व्यवसाय, संस्थागत विकास तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तारको क्षेत्रमा अनुभव हासिल गरेका व्यवसायी हुन्। उनले नाटाको २०२०–२०२२ कार्यसमितिमा सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पाण्डेले नाटालाई अझ सशक्त, आधुनिक, प्रभावकारी र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पर्यटन व्यवसायीको हकहित संरक्षण, सरकार तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय, नीतिगत सुधार, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा सदस्य सेवाको गुणस्तरीय विस्तारलाई प्राथमिकतामा राखेका छन्।
पाण्डे नेतृत्वको समूहले निर्वाचनका लागि ११ बुँदे सङ्कल्प समेत सार्वजनिक गरेको छ। सङ्कल्पमा नाटालाई महासंघको अवधारणाअनुसार पुनःसंरचना गर्दै केन्द्रमा सबै प्रदेशको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधन गर्ने योजना अघि सारिएको छ।
त्यस्तै, संस्थामा सशक्त आचारसंहिता लागू गरी पारदर्शिता, उत्तरदायित्व र व्यावसायिकता सुनिश्चित गर्ने तथा सदस्यलाई समान अवसर, सम्मानजनक सहभागिता र निष्पक्ष प्रतिनिधित्वको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ।
अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि सम्भावित बजार पहिचान गरी नियमित सेल्स सेसन सञ्चालन गर्ने, विश्वप्रसिद्ध ट्राभल मार्टसँग सहकार्य गर्दै बिआइटीएमलाई अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित ट्राभल मार्टका रूपमा विकास गर्ने योजना पनि सङ्कल्पमा समेटिएको छ।
विश्वका प्रमुख ट्राभल मार्टमा नेपालको सहभागिता विस्तार गर्न निजी तथा सरकारी क्षेत्रबीचको सहकार्य सुदृढ गर्ने तथा नेपालको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
टिकटिङ प्रविधिमा देखिने समस्या तथा सिस्टम एररका कारण व्यवसायीले भोगिरहेका समस्या समाधानका लागि सम्बन्धित एयरलाइन्स र सरोकारवाला निकायसँग समन्वय गर्ने तथा एयर टिकटमा लाग्दै आएको भ्याटलगायत करसम्बन्धी नीतिका कारण व्यवसायीले भोगिरहेका समस्याको दीर्घकालीन समाधानका लागि सरकारसँग पहल गर्ने योजना अघि सारिएको छ।
सार्वजनिक तथा पर्यटक यातायातमा लागू भएका अव्यावहारिक र विभेदपूर्ण व्यवस्थाको पुनरावलोकन तथा सुधारका लागि पहल गर्ने र विदेशी नम्बर प्लेटका सवारीसाधनको अनियन्त्रित सञ्चालनबाट नेपाली पर्यटक यातायात व्यवसायीले गुमाउँदै आएको व्यवसाय संरक्षणका लागि नीतिगत सुधार गर्ने प्रतिबद्धता पनि समूहले जनाएको छ।
विदेशस्थित नेपाली दूतावास, पर्यटन बोर्ड तथा सम्बन्धित निकायसँग समन्वय गरी नेपालको पर्यटन प्रवर्द्धन गर्ने तथा नेपालस्थित विदेशी दूतावास र कूटनीतिक नियोगसँग सहकार्य गर्दै नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
सदस्यका लागि नियमित निःशुल्क तालिम, युवालक्षित सीप तथा नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्ने र प्रदेश नाटा समिति तथा प्रदेशअन्तर्गतका सदस्यको क्षमता अभिवृद्धिका लागि निरन्तर तालिम, अन्तरक्रिया तथा कार्यक्रम आयोजना गर्ने जनाइएको छ।
सम्भावित अन्तर्राष्ट्रिय बजारबाट नियमित फेम ट्रिप, सेल्स मिसन तथा नेटवर्किङ कार्यक्रम आयोजना गरी नेपाली पर्यटन व्यवसायको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने योजना पनि सङ्कल्पमा समेटिएको छ।
पाण्डे समूहले **‘डिजिटल नाटा’**को अवधारणा अघि सार्दै अनलाइन सदस्यता, अनलाइन भुक्तानी, डिजिटल गुनासो तथा सपोर्ट सिस्टमसहितको एकीकृत डिजिटल पोर्टल विकास गर्ने जनाएको छ। सदस्यका समस्या तथा गुनासो सम्बोधन गर्न हटलाइन सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।
सातै प्रदेश सरकारसँग सहकार्य गरी सम्भावित पर्यटन गन्तव्यको पहिचान, विकास तथा प्रवर्द्धन गर्ने तथा नेपाली पर्यटन व्यवसायीलाई ठगी गर्ने विदेशी कम्पनीको पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक कारबाहीका लागि पहल गर्ने जनाएको छ।
त्यस्तै, सदस्यता विस्तार अभियान सञ्चालन गरी नाटाका सदस्य संख्या कम्तीमा एक हजार पुर्याउने लक्ष्य राखिएको छ। यसबाट संस्थाको पहुँच, प्रतिनिधित्व र प्रभावकारिता थप विस्तार गर्ने पाण्डे नेतृत्वको समूहको योजना छ।
नाटा निर्वाचन २०२६ मा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका पाण्डेले पर्यटन व्यवसायीको साझा हित संरक्षणसँगै संस्थागत सुधार, अन्तर्राष्ट्रिय बजार विस्तार, डिजिटल रूपान्तरण र सदस्यको क्षमता अभिवृद्धिलाई आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता बनाएका छन्।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा