logo

मंगलबार, भाद्र २ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २ मंगलबार

२० वर्षअघिको समाजदेखि आजको विकृतिसम्म : शिला आलेको मौलिक तीज गीत ‘दन्ते कथा’ सार्वजनिक

२० वर्षअघिको समाजदेखि आजको विकृतिसम्म : शिला आलेको मौलिक तीज गीत ‘दन्ते कथा’ सार्वजनिक


  • मंगलबार, भाद्र २ २०८३
  • 1K
    SHARES

    काठमाडौं । गायिका शिला आलेको मौलिक तीज गीत ‘दन्ते कथा’ सार्वजनिक भएको छ । शिला आलेको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले नेपाली समाजमा आएको परिवर्तनसँगै हराउँदै गएको मौलिक संस्कार, संस्कृति र गाउँले जीवनशैलीलाई वर्तमान सामाजिक अवस्थासँग जोडेको छ ।

    गीतमा शिला आलेको शब्द तथा वरिष्ठ गायिका शर्मिला गुरुङको लय सिर्जना रहेको छ । शिला आले, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ र देवी घर्ती मगरको स्वर रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । गीतको रेकर्डिङ मालाश्री रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

    प्रकाश भट्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सलिना नेपाली र ऋतु तामाङले अभिनय गरेका छन् । करण चैसिरको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । काठमाडौंको वनस्थली खरिबोटस्थित मदर ब्याङ्क्वेटमा भिडियोको छायांकन गरिएको हो ।

    ‘दन्ते कथा’मा करिब २० वर्षअघिको नेपाली समाज र त्यतिबेलाका महिला तथा आमादिदीबहिनीले भोगेका पीडा, दुःख र संघर्षलाई गीतका शब्दमार्फत प्रस्तुत गरिएको छ । पुरानो संस्कार, संस्कृति र गाउँघरको जीवनशैलीलाई अहिलेको पुस्तासँग जोड्ने प्रयास गीतमा गरिएको छ ।

    गीतले समयसँगै बढेको महँगी र बदलिएको जीवनशैलीमाथि पनि प्रश्न उठाएको छ । पहिले ६० रुपैयाँ रहेको यातायात भाडा अहिले हजार रुपैयाँसम्म पुगेको प्रसंगदेखि सुनको मूल्य, दैनिक उपभोग्य वस्तुको महँगी र बढ्दो जनसंख्यासम्मका विषय गीतमा समेटिएका छन् ।

    त्यस्तै, मकै–गहुँ पिस्न पानी घट्टामा जाने पुरानो चलनदेखि बिजुलीको मिल आएपछि त्यसमा आएको परिवर्तन, ढिकी–जाँतो, नाङ्लो–डाली, डोको–नाम्लो, हलो–जुवा जस्ता ग्रामीण जीवनका अभिन्न अंग हराउँदै गएको अवस्थालाई गीतले सम्झाएको छ ।

    ‘दन्ते कथा’ले सामाजिक विकृतितर्फ पनि ध्यान खिचेको छ । अपराध बढ्दै गएको, पारिवारिक हिंसा र मानवीय सम्बन्धमा आएको संकटप्रति गीतले चिन्ता व्यक्त गरेको छ । बुद्ध जन्मिएको देशमा समेत मानिसमाथि हिंसा भइरहेको अवस्थालाई गीतले गम्भीर प्रश्नका रूपमा उठाएको छ ।

    गीतमा महिलालाई उमेर छँदै बचत गर्न र भविष्यका लागि आर्थिक रूपमा तयार रहनसमेत आग्रह गरिएको छ । वैदेशिक रोजगारीका कारण गाउँघरबाट दिदीबहिनीहरू टाढिँदै गएको र दशैं–तिहारजस्ता चाडपर्वमा मात्रै गाउँ फर्किनुपर्ने अवस्थाले जन्माएको भावनात्मक पीडालाई पनि गीतले समेटेको छ ।

    दशैंमा सालघारीबाट पात टिप्ने, कमेरो र माटोले घर लिप्ने तथा तिहारमा देउसी–भैलो खेल्ने पुराना परम्परादेखि असारमा असारे गीत र तीजमा गाउँघर गुञ्जिने मौलिक संस्कृति हराउँदै गएकोप्रति गीतले सम्झना र चिन्ता व्यक्त गरेको छ ।

    गीतको अन्त्यतिर बढ्दो हिंसा र अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्थाको मागसमेत गरिएको छ । यसरी ‘दन्ते कथा’ले तीजको मौलिक भावनासँगै विगतको गाउँले जीवन, महिलाका भोगाइ, सामाजिक परिवर्तन, महँगी, वैदेशिक पलायन र समसामयिक विकृतिलाई एउटै कथामा जोडेको छ ।

    सार्वजनिक भएसँगै गीतले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । पुरानो तीज गीतको स्वाद, मौलिक शब्द र समसामयिक विषयवस्तुको संयोजनका कारण ‘दन्ते कथा’ यस वर्षको तीजमा फरक सन्देश बोकेको गीतका रूपमा आएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page