गण्डकी: प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन्।
पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयकी कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ शिक्षा प्रणाली उन्मुख हुनुपर्नेमा जोड दिइन्।
उनले नवीन प्रविधि विकास तथा अनुसन्धानमा आधारित प्राज्ञिक गतिविधिलाई प्रवर्द्धन गर्न आवश्यक रहेको उल्लेख गर्दै विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोड्नुपर्ने धारणा राखिन्। आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान तथा पाठ्यक्रम सान्दर्भिक नहुने उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालय अध्ययन पूरा गरेलगत्तै ठूलो संख्यामा युवाहरू विदेशतर्फ आकर्षित हुनु चिन्ताको विषय भएको बताउँदै बदलिँदो विश्व परिवेशमा प्रतिस्पर्धी र सक्षम बन्नतर्फ विद्यार्थी तथा शैक्षिक संस्थाहरू केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याइन्।
उनले परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्दै नवप्रवर्तन र उद्यमशीलताको मार्ग अपनाउनु वर्तमान समयको आवश्यकता भएको बताइन्। साथै, स्थापना कालदेखि नै पोखरा विश्वविद्यालयले उच्च शिक्षाको पहुँच विस्तारमा पुर्याएको योगदानको प्रशंसा गरिन्।
प्रधानमन्त्री कार्कीले गुणस्तरीय शिक्षामा जोड दिँदै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताइन्। उनले दीक्षान्त प्रमाणपत्रलाई केवल रोजगारीको आधार नभई समाज र राष्ट्रका जटिल समस्याको समाधान खोज्न सक्ने क्षमताको प्रतीकका रूपमा लिनुपर्ने उल्लेख गरिन्।
उनले युवाहरूलाई भविष्यका नीति–निर्माता, प्रशासक र समाज रूपान्तरणका प्रमुख आधारका रूपमा चित्रण गर्दै जिम्मेवारीबोध, इमान्दारी र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरिन्।
साथै, लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि आगामी निर्वाचनमा सक्रिय र जिम्मेवार सहभागिताका लागि उनले सबैलाई आह्वान गरिन्।
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
आयुक्त बन्ने आकांक्षाले पूर्व एआईजी शर्माले गरे प्रहरीमाथि कारबाही
-
तालपोखरी जात्रा २०८२ हुदै: २१ औं खुल्ला भलिबल प्रतियोगिता मुख्य आकर्षण
-
कान्तिपुर जनरल हस्पिटलद्वारा एकीकृत समृद्धि नेपाललाई आर्थिक सहयोग
-
गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीको निर्वाचन खर्च २२ लाख ५५ हजार