logo

बुधबार, असार १० २०८३

kantipurpationlinetv

२०८३ असार १० बुधबार

भानुमा जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने

भानुमा जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने


  • बिहिबार, बैशाख ३ २०८३
  • 4.1K
    SHARES

    तनहुँ, भानु: भानु नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि वार्षिक शैक्षिक कार्यतालिका सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा महत्वपूर्ण नीतिगत निर्णयहरू कार्यान्वयन गर्ने भएको छ।

    नगर शिक्षा समितिको निर्णयअनुसार विद्यार्थी भर्ना अभियानदेखि नियमित पठनपाठनसम्मका सम्पूर्ण कार्यक्रमहरूको समयतालिका तय गरिएको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाका अनुसार शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना अभियान २०८३ वैशाख ४ देखि ८ गतेसम्म सञ्चालन गरिनेछ। सोही अवधिमा वार्षिक कार्ययोजना निर्माण, शैक्षिक योजना तयारी, शिक्षकहरूको पेशागत क्षमता विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी कार्यक्रमहरू समेत सञ्चालन गरिने बताइएको छ।

    त्यसैगरी, नयाँ शैक्षिक सत्रको नियमित पठनपाठन २०८३ वैशाख ९ गतेदेखि सुरु हुने नगरपालिकाले जनाएको छ।

    नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार र अभिभावकको आकर्षण वृद्धि गर्ने उद्देश्यसहित अघिल्लो निर्णयलाई पुनः स्मरण गराउँदै कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ।

    उक्त निर्णयअनुसार नगरपालिका क्षेत्रमा कार्यरत सबै शिक्षक, कर्मचारी, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति (विव्यस) तथा शिक्षक–अभिभावक संघ (शिअसघ) का पदाधिकारीहरूले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने व्यवस्था गरिएको छ।

    नगर प्रमुख आनन्दराज त्रिपाठीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सामुदायिक विद्यालयप्रति अपनत्व वृद्धि गर्न यो निर्णय गरिएको हो। यस नीतिगत निर्णयलाई पूर्ण रूपमा पालना गर्न र गराउन सबैमा अनुरोध गरिन्छ।”

    नगरपालिकाले ‘साहित्य, पर्यटन र कृषि क्षेत्र हाम्रो आधार, समृद्ध र समुन्नत भानु राम्रो’ भन्ने नारालाई आत्मसात गर्दै शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page