काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस्व संकलनको लक्ष्य हासिल गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित बजेट कार्यान्वयन योजनासम्बन्धी बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले बजेटलाई पाँच वर्षे सरकारको आर्थिक मार्गचित्र कार्यान्वयनको पहिलो आधारका रूपमा उल्लेख गर्दै विगतमा देखिएको पूँजीगत खर्चको सुस्तता र राजस्व संकलनको कमजोरी दोहोरिन नहुने बताएका हुन्।
उनले तोकिएको पूँजीगत बजेट खर्च गर्न नसक्ने र राजस्व लक्ष्यसमेत पूरा गर्न नसक्ने विगतको अवस्था अन्त्य गर्न सचिवहरूले स्पष्ट कार्ययोजना बनाएर काम गर्नुपर्नेमा जोड दिए।
‘गत आर्थिक वर्ष पूँजीगत खर्च करिब ४९ प्रतिशतमा सीमित रह्यो। राजस्व संकलन पनि साढे १२ खर्ब रुपैयाँ हाराहारीमा मात्र भयो,’ मन्त्री वाग्लेले भने, ‘यो अवस्था अब दोहोरिनु हुँदैन। चालु आर्थिक वर्षमा कम्तीमा ८० प्रतिशत पूँजीगत खर्च हुनुपर्छ र १६ खर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पूरा गर्नुपर्छ।’
अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनका क्रममा देखिने कानुनी, नीतिगत तथा व्यावहारिक समस्या लुकाएर नराखी अर्थ मन्त्रालयलाई जानकारी गराउन सचिवहरूलाई आग्रह गरे। समस्या समाधानका लागि मन्त्रालय आवश्यक सहजीकरण गर्न तयार रहेको उनको भनाइ थियो।
उनले बजेट कार्यान्वयनलाई छिटो र प्रभावकारी बनाउन गत आर्थिक वर्षदेखि रकमान्तर तथा अवण्डा बजेटको विस्तृतीकरण गर्ने अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरिएको उल्लेख गर्दै त्यसको प्रभावकारी उपयोग गर्न पनि सचिवहरूलाई निर्देशन दिए।
बैठकमा सबै मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई नतिजामुखी, समयबद्ध र प्रभावकारी बनाउने उद्देश्यले सचिवहरूसँग छलफल गरिएको हो।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने