काठमाडौं । काठमाडौं उपत्यकाको प्रवेशद्वार नागढुंगा हुँदै धादिङको सिस्नेखोलासम्म जोड्ने नेपालको पहिलो सडक सुरुङ मार्ग सोमबार औपचारिक रूपमा सञ्चालनमा आएको छ। २०७६ सालमा शिलान्यास गरिएको यो आयोजना करिब सात वर्षपछि निर्माण सम्पन्न भएर उद्घाटन गरिएको हो।
नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग उद्घाटन गरे।
सरकारका अनुसार सुरुवाती चरणमा आपत्कालीन प्रयोजनका सवारीसाधनलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ। आवश्यक परीक्षण र प्राविधिक तयारी पूरा भएपछि निजी तथा सार्वजनिक सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालन अनुमति दिइने जनाइएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते आयोजनाको शिलान्यास गरेका थिए। ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारी, जग्गा अधिग्रहण तथा मुआब्जा विवादलगायत कारण आयोजना निर्धारित समयमा सम्पन्न हुन सकेन।
आयोजनाअन्तर्गत २०८० साउन २२ गते आपत्कालीन उद्धारका लागि निर्माण गरिएको ‘रेस्क्यु टनेल’को ब्रेकथ्रु गरिएको थियो। त्यसपछि २०८१ असार ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य सुरुङको ब्रेकथ्रु गरेका थिए।
मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने २.५५७ किलोमिटर लामो आपत्कालीन सुरुङ पनि निर्माण गरिएको छ। सुरुङभित्र पैदलयात्री, दुईपाङ्ग्रे सवारीसाधन तथा पेट्रोलियमलगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन सञ्चालन गर्न पाइने छैन।
सुरुङ मार्ग प्रयोगका लागि सरकारले शुल्कसमेत निर्धारण गरेको छ। काठमाडौं प्रवेश गर्ने कार तथा भ्यानले ६५ रुपैयाँ र बाहिरिने क्रममा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनिबस तथा टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ। बस तथा ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। हेभी ट्रकका लागि प्रवेश शुल्क ६०० रुपैयाँ तथा बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।
यो आयोजना सुरुमा जापान सरकारको करिब १६ अर्ब ५० करोड रुपैयाँ ऋण सहायता र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानीमा निर्माण गर्ने सम्झौता भएको थियो। निर्माणका क्रममा लागत बढेपछि जापान सरकारले थप करिब ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो। हाल आयोजनाको कुल लागत करिब २९ अर्ब रुपैयाँ पुगेको छ।
आयोजनाको निर्माण जिम्मा जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो। सञ्चालनमा आएसँगै नागढुंगा सडकखण्डमा हुने सवारी जाम घट्ने, यात्रा समय छोटिने र काठमाडौं–धादिङ आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण