logo

शुक्रबार, भाद्र २६ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २६ शुक्रबार

संगीत क्षेत्रमा प्रविधिको प्रयोगबारे अन्तरक्रिया, सिकाइमुखी अभ्यासलाई परिषद्को प्राथमिकता

संगीत क्षेत्रमा प्रविधिको प्रयोगबारे अन्तरक्रिया, सिकाइमुखी अभ्यासलाई परिषद्को प्राथमिकता


  • आइतबार, असार २१ २०८३
  • 1.8K
    SHARES

    काठमाडौं । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले ‘संगीत र प्रविधि’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै संगीत तथा अडियो–भिडियो क्षेत्रमा प्रविधिको बढ्दो प्रयोग, त्यसको प्रभाव र बदलिँदो प्रविधिसँग समयानुकूल रूपमा अद्यावधिक रहने उपायबारे छलफल गरेको छ।

    काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ प्रविधि विज्ञ राजेन्द्र अर्यालले प्रमुख वक्ताका रूपमा संगीत, अडियो तथा भिडियो निर्माणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, तिनको प्रभावकारी उपयोग तथा प्रविधिको तीव्र विकाससँगै आफूलाई कसरी अद्यावधिक राख्ने भन्ने विषयमा प्रस्तुति दिएका थिए।

    कार्यक्रममा संगीतकर्मी, स्रष्टा, कलाकार तथा अडियो–भिडियो क्षेत्रमा आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको परिषद्ले जनाएको छ। सहभागीहरूले आधुनिक प्रविधिसम्बन्धी व्यवहारिक ज्ञान र अनुभव आदान–प्रदान गर्ने अवसर पाएका थिए।

    यसपटक परिषद्ले कार्यक्रम सञ्चालनको शैलीमा परिवर्तन गर्दै औपचारिकताभन्दा सिकाइ र ज्ञान आदान–प्रदानलाई प्राथमिकता दिएको जनाएको छ। प्रमुख अतिथि, विशेष अतिथि, लामो स्वागत मन्तव्य तथा खादा–माला जस्ता परम्परागत औपचारिकता हटाएर सहभागीलाई प्रत्यक्ष रूपमा विषयवस्तुमा केन्द्रित गरिएको थियो।

    कार्यक्रममा सहभागीहरूले कलम र कापीसहित उपस्थित भई विज्ञको प्रस्तुति सुन्दै आवश्यक विषयवस्तुको टिपोट गरेका थिए। परिषद्का अनुसार यस्तो अभ्यासले कार्यक्रमलाई थप प्रभावकारी, उपयोगी र परिणाममुखी बनाएको छ।

    परिषद्ले समय र स्रोतको मितव्ययी उपयोग गर्दै ज्ञान, अनुसन्धान र सिकाइमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। साथै, भाषणबाजी र अनावश्यक औपचारिकताभन्दा विषयवस्तुको गहिरो छलफल र ज्ञान आदान–प्रदानलाई संस्थागत संस्कृतिका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page