२८ साउन, काठमाडौं । नेपाली कांग्रेसले युवालाई सीप, अवसर र उद्यमसँग जोड्दै सक्षम तथा आत्मनिर्भर बनाउन ‘बीउ’ अभियान घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर कांग्रेस सभापति गगन थापाले केन्द्रीय समिति बैठकबाट अभियान घोषणा गरेका हुन् । ‘बिल्ड’, ‘इन्क्युबेट’ र ‘अपलिफ्ट’ शब्दको संयोजनबाट बीआईयू अर्थात् ‘बीउ’ अभियानको नाम तय गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका अनुसार अभियानले युवालाई सीपसँग, सीपलाई अवसरसँग, अवसरलाई उद्यमसँग र उद्यमलाई आत्मनिर्भरतासँग जोड्नेछ । देशभरका युवालाई ‘बीउबाट बिरुवा र बिरुवाबाट रूख’ जस्तै दिगो उद्यमी बनाउने लक्ष्य अभियानले राखेको छ ।
कांग्रेसले हरेक युवाभित्र सम्भावनाको एउटा ‘बीउ’ हुने उल्लेख गर्दै कसैमा उद्यमशीलताको क्षमता, कसैमा प्रविधिको ज्ञान, कसैमा सिर्जनशीलता र कसैमा नेतृत्व गर्ने क्षमता रहेको जनाएको छ ।
युवाको सम्भावना पहिचान गरी त्यसलाई अवसरसँग जोड्ने उद्देश्यले अभियान अघि बढाइने कांग्रेसले जनाएको छ । अभियानको सुरुवात ललितपुरबाट गरिने भएको छ ।
त्यसपछि हिमाल, पहाड र तराई–मधेसका एक–एक जिल्लामा अभियान विस्तार गरिने र त्यसलाई ‘बिरुवा’ नाम दिइने कांग्रेसको निर्णयमा उल्लेख छ । क्रमशः देशभर विस्तार गर्दै दिगो रूपमा सञ्चालन गरिने अभियानलाई ‘रूख’को रूपमा विकास गर्ने लक्ष्य कांग्रेसले राखेको छ ।
‘मसँग सपना त छ, तर अवसर छैन’ भन्ने अवस्था कुनै पनि युवामा आउन नदिन अभियान सुरु गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका अनुसार अभियानमार्फत युवाका सपना सुन्ने, उनीहरूको सम्भावना पहिचान गर्ने, अवसरसँग जोड्ने र आफ्नै भविष्य निर्माण गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ ।
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला