logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

गोरखा–२ बाट एमालेले चक्रे मिलनलाई प्रतिनिधिसभा उम्मेदवार सिफारिस

गोरखा–२ बाट एमालेले चक्रे मिलनलाई प्रतिनिधिसभा उम्मेदवार सिफारिस


  • शुक्रबार, पुष १७ २०८२
  • 12.8K
    SHARES

    गोरखा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेले मिलन गुरुङ (चक्रे मिलन) लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

    एमाले गोरखा जिल्ला समितिको सिफारिसमा गुरुङ प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्। उनी लामो समयदेखि पार्टीमा सक्रिय रहेको दाबी गर्दै आएका छन्। गुरुङले उम्मेदवारी सिफारिस हुनु आफ्नो व्यक्तिगत चाहनाभन्दा पनि आम नागरिक, विशेषगरी युवा तथा जेन–जी पुस्ताको निरन्तर आग्रह र दबाबका कारण भएको बताएका छन्।

    उनका अनुसार उनी २०५० सालदेखि नै नेकपा एमालेसँग आबद्ध भएर राजनीति र समाजसेवामा सक्रिय छन्। पार्टीप्रति निरन्तर निष्ठा राख्दै सामाजिक गतिविधिमा संलग्न हुँदै आएको उनको भनाइ छ।

    यसैबीच, गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै गोरखाका युवा नेता प्रविण अधिकारीले निस्वार्थ रूपमा राजनीति र समाजसेवामा अघि बढ्ने व्यक्तिलाई गोरखामा स्वागत गर्नुपर्ने बताए।

    तर गुरुङको नाम विवादरहित भने छैन। आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिसँग जोडिँदै आएका उनी पटक–पटक पक्राउ परेर हिरासत तथा जेल पुगेका छन्। पछिल्लो पटक उनी गत साउनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीद्वारा महाराजगञ्जस्थित एक होटलबाट पक्राउ परेका थिए। सर्वसाधारणलाई आतंकित पार्ने गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनी पछि धरौटीमा रिहा भएका थिए।

    प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार गुरुङविरुद्ध १२ पटकभन्दा बढी मुद्दा चलेको देखिन्छ। भक्तपुरमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा समेत उनी धरौटीमा छुटेका थिए।

    गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक घर भएका गुरुङ कुनै समय दिवंगत एमाले नेता प्रदीप नेपालको निकट व्यक्ति मानिन्थे। पछि ‘चक्रे मिलन’ नामले चिनिँदै आएका उनी महाराजगञ्ज क्षेत्रलाई आधार बनाएर विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ।

    आफूमाथि लागेको गुण्डागर्दीको आरोप अस्वीकार गर्दै गुरुङले भनेका छन्, “म लामो समयदेखि समाजसेवामा सक्रिय छु। कहिलेकाहीँ नियोजित रूपमा ‘गुण्डा’को आरोप लगाएर बदनाम गर्ने प्रयास भयो।”

    समाजका विभिन्न क्षेत्रमा योगदान दिएको दाबी गर्दै उनले गोरखाली जनताले आफूलाई संसदमा पठाउनेमा विश्वास व्यक्त गरेका छन्। एमालेबाट अन्तिम टिकट पाउने वा नपाउने विषय भने अझै टुंगो लाग्न बाँकी छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page