काठमाडौं — उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा गर्दै संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा जनतासँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउने निर्णय गरेको छ।
पार्टीले फागुन २९ र ३० गते काठमाडौंस्थित केन्द्रीय कार्यालयमा दुई दिने केन्द्रीय समीक्षा कार्यक्रम सम्पन्न गरेको जनाएको छ। पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, प्रदेश संयोजक, जिल्ला संयोजक तथा विभिन्न तहका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार कार्यक्रमको पहिलो दिन उम्मेदवार, प्रदेश संयोजक र जिल्ला संयोजकबीच विस्तृत छलफल गरिएको थियो। छलफलका क्रममा निर्वाचन अवधिमा प्राप्त अनुभव, जनसमर्थनको अवस्था, संगठन विस्तारको सम्भावना, मतदाताको मनोविज्ञान, प्रचारप्रसारका चुनौती तथा छोटो समयमै पार्टीले हासिल गरेको राष्ट्रिय उपस्थितिलगायत विषयमा समीक्षा गरिएको थियो।
सहभागीहरूले सीमित स्रोतसाधन र प्रारम्भिक संगठनात्मक अवस्थाका बाबजुद पार्टीले देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गर्न सफल भएको निष्कर्ष निकालेका छन्। यसलाई भविष्यमा बलियो राजनीतिक आधारका रूपमा लिने निर्णयसमेत गरिएको जनाइएको छ।
कार्यक्रमको दोस्रो दिन केन्द्रीय समिति सदस्यबीच भएको छलफलमा पार्टीलाई थप व्यवस्थित, वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय राजनीतिक शक्तिका रूपमा विकास गर्ने साझा निष्कर्ष निकालिएको प्रवक्ता थापाले जानकारी दिए।
बैठकले संगठन निर्माणलाई प्राथमिकता दिँदै सचिवालय, विभाग, आयोग, सल्लाहकार समिति, प्रवास समिति तथा प्रदेश, जिल्ला र स्थानीय तहका संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको छ।
त्यस्तै, पार्टीभित्र प्रशिक्षण, वैचारिक एकता, डिजिटल उपस्थिति सुदृढीकरण, मिडिया सञ्चालन, युवा तथा महिला सहभागिता वृद्धि, समावेशी प्रतिनिधित्व, सदस्यता विस्तार तथा आर्थिक सुदृढीकरणमा विशेष जोड दिने सहमति भएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले आफूलाई केवल चुनावी शक्तिमा सीमित नराखी जनविश्वास, सुशासन, समृद्धि र सामाजिक न्यायका लागि दीर्घकालीन राजनीतिक अभियानका रूपमा अघि बढाउने लक्ष्यसमेत व्यक्त गरेको छ।
यसैबीच बैठकले हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका खेलेको भन्दै वर्तमान सरकारलाई धन्यवाद दिएको र आगामी दिनमा पनि लोकतान्त्रिक प्रक्रिया सुदृढ बनाउन आग्रह गरेको जनाएको छ।

-
चुनावी परिणामपछि प्रकाशचन्द्र दवाडीको सन्देश: गोरखाको विकासमा सधैँ साथ रहने प्रतिबद्धता
-
जहाँ संकट, त्यहाँ प्रेमः गोरखाको माटोले चिनेको एउटा निस्वार्थ नाम
-
गोरखा–२ मा कांग्रेस–प्रलोपा संयुक्त प्रचार, घरदैलो अभियान तीव्र
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
प्रधानमन्त्री कार्कीको अपिल- फागुन २१ गते अरू काम छाडेर भए पनि मतदान गर्नुस्