logo

बुधबार, चैत्र १० २०८२

kantipurpationlinetv

२०८२ चैत्र १० बुधबार

ट्रेकिङ व्यवसायदेखि संसदसम्म: शोभा खनालको प्रेरणादायी यात्रा

ट्रेकिङ व्यवसायदेखि संसदसम्म: शोभा खनालको प्रेरणादायी यात्रा


  • बुधबार, चैत्र १० २०८२
  • 3.3K
    SHARES

    गोरखा– गण्डकी गाउँपालिका–५ दर्वुङकी शोभा खनाल सानैदेखि समाज र राजनीतिप्रति चासो राख्ने व्यक्तित्व हुन्। समाजमा देखिने विभेद र बेथितिविरुद्ध उनले बाल्यकालमै खुलेर आवाज उठाउने गर्थिन्। परिवारको राजनीतिक पृष्ठभूमि र आमाको सामाजिक सक्रियताले उनलाई समाजसेवातर्फ प्रेरित गर्‍यो।

    रत्नेश्वर माध्यमिक विद्यालयबाट वि.सं. २०६० मा एलएलसी पूरा गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आएकी हुन्। मनमोहन मेमोरियल कलेजबाट १२ कक्षा पूरा गरेकी खनालले पद्मकन्या क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। अध्ययनपछि करिब चार वर्ष ट्रेकिङ क्षेत्रमा काम गरेकी उनले वि.सं. २०७० सालदेखि आफ्नै पहलमा ट्रेकिङ कम्पनी स्थापना गरी महिला उद्यमीका रूपमा आफ्नो यात्रा अघि बढाइन्।

    हाल उनी हिमालयन समिट ट्रेक्स एन्ड एक्सपेडिसन प्रालि, एस्योर्ड ट्राभल एन्ड टुर्स प्रालि, हिमालय डिजिटल सोलुसन प्रालि र इक्लुसिभ लर्निङ एन्ड रिसर्च सेन्टरकी संस्थापक निर्देशक समेत हुन्। करिब १५ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहेकी खनाल हालसम्म कुनै राजनीतिक दलमा औपचारिक रूपमा आबद्ध थिइनन्, यद्यपि उनी राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सकारात्मक धारणा राख्थिन्।

    हालैको जेनजी आन्दोलनको प्रत्यक्ष अवलोकनपछि भने उनले राजनीतिमा सक्रिय हुने निर्णय गरिन्। आन्दोलनका क्रममा देखिएको सुशासन र भ्रष्टाचारविरुद्धको मागले उनलाई प्रभावित बनायो। उनले आन्दोलनमा भएको दमन र गोली प्रहारले आफूलाई गहिरो रूपमा झक्झक्याएको बताउँदै देशमा सुशासन स्थापना गर्न सक्रिय भूमिका आवश्यक रहेको निष्कर्षमा पुगेकी हुन्।

    त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएर सक्रिय राजनीतिक यात्रामा प्रवेश गरिन्। पार्टीले उनलाई खस आर्य क्लस्टरबाट समानुपातिक उम्मेदवार बनाएको थियो। यस क्रममा उनले गोरखा–१ का उम्मेदवार सुधन गुरुङसँगै गाउँ–गाउँ पुगेर मत मागिन्।

    गोरखाका विभिन्न क्षेत्रको भ्रमणका क्रममा उनले आधारभूत पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवामा अझै धेरै काम गर्नुपर्ने आवश्यकता देखेकी छन्। विशेषगरी उत्तरी गोरखामा सडकको अभाव र स्वास्थ्य सेवाका कठिनाइका कारण सुत्केरी महिलालाई हेलिकप्टरमार्फत काठमाडौं लैजानुपर्ने अवस्था रहेको उनले उल्लेख गरेकी छन्।

    खनाल स्वयं बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान प्रभावित क्षेत्रकी बासिन्दा हुन्। १२ सय मेगावाट क्षमताको राष्ट्रिय गौरवको उक्त आयोजनालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै उनले संसदमा यसबारे प्रभावकारी रूपमा आवाज उठाउने बताएकी छन्। उनका अनुसार आयोजनाका कारण गाउँमा बसाइँसराइ बढेको, विद्यालयहरूमा विद्यार्थी घटेको र धेरै घर खाली भएको अवस्था छ, जसलाई सम्बोधन गर्न तत्काल ठोस निर्णय आवश्यक छ।

    पर्यटन क्षेत्रमा लामो अनुभव भएकी खनालले यस क्षेत्रलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न नीतिगत सुधार र विज्ञहरूसँगको समन्वय आवश्यक रहेको बताएकी छन्। उनले पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन संसदमार्फत सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech