गोरखा — गोरखामा दोस्रो अन्तरपालिका उप–मेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा बिहीबारदेखि सदरमुकामस्थित हरमटारी खेलमैदानमा प्रतियोगिता सुरु गरिएको हो।
प्रतियोगितामा जिल्लाका ५ स्थानीय तह र गोरखा नगरपालिकाको भगिनी सम्बन्ध रहेको धादिङको नीलकण्ठ नगरपालिका गरी कुल ६ टिमको सहभागिता रहेको छ। सहभागी पालिकाहरूमा आरुघाट, अजिरकोट, सहिद लखन, बारपाक सुलिकोट र गोरखा नगरपालिका रहेका छन्।
लिग चरणअन्तर्गत पहिलो दिन दुई खेल सम्पन्न भएका छन्। उद्घाटन खेलमा गोरखा नगरपालिका र नीलकण्ठ नगरपालिकाबीच प्रतिस्पर्धा भएको थियो, जसमा नीलकण्ठ नगरपालिका ३–० को सोझो सेटमा विजयी भएको छ। दोस्रो खेलमा शहिद लखन गाउँपालिका अजिरकोट गाउँपालिकालाई पराजित गर्दै विजयी भएको छ।
प्रतियोगिताको दोस्रो दिन आज चार खेल सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु १ लाख ३४ हजार, दोस्रोले रु ६८ हजार, तेस्रोले रु ४० हजार र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन्।
उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकरको अध्यक्षता तथा नगर प्रमुख कृष्ण राना मगरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुसलीबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल, खेलकुद विकास समितिका अध्यक्ष प्रेम तामाङ र पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाललगायतले मन्तव्य राखेका थिए। प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।

-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी
-
प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको खेतमै