logo

सोमबार, साउन ११ २०८३

kantipurpationlinetv

२०८३ साउन ११ सोमबार

पूर्वमेयर प्रधानमन्त्री हुँदा महानगरको प्रतिष्ठा बढ्यो: कार्यवाहक प्रमुख डंगोल

पूर्वमेयर प्रधानमन्त्री हुँदा महानगरको प्रतिष्ठा बढ्यो: कार्यवाहक प्रमुख डंगोल


  • शुक्रबार, बैशाख ४ २०८३
  • 6.5K
    SHARES

    काठमाडौँ — काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार र महानगरपालिकाबीच सहरी विकास तथा व्यवस्थापनका विषयमा सहकार्य र समन्वय गर्ने सहज वातावरण निर्माण भएको बताएकी छन्।

    कामपाको ४८औँ कार्यपालिका बैठकमा बोल्दै उनले पूर्वप्रमुख बालेन्द्र शाह सङ्घीय सरकारको प्रधानमन्त्री, शिक्षामन्त्री सस्मित पोखरेल सहरी विकास र व्यवस्थापन विज्ञका रूपमा तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल जस्ता स्थानीय सरकारबारे राम्रो बुझाइ भएका व्यक्तिहरू सरकारमा रहनुले काम गर्ने वातावरण थप सहज भएको धारणा व्यक्त गरिन्।

    उनले भनिन्, “अहिले कामपाको प्रतिष्ठा बढेको छ। यो काठमाडौँको समृद्धिका लागि ठूलो अवसर पनि हो।”

    बैठकले विपद् व्यवस्थापन तथा क्षतिपूर्ति कोष सञ्चालन कार्यविधि, २०८२ र मेट्रोमार्ट सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ गरी दुईवटा कार्यविधि स्वीकृत गरेको छ। त्यस्तै तीनवटा कार्यविधि संशोधनका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ।

    संशोधनका लागि सहमति प्राप्त कार्यविधिहरूमा ‘श्रम बैंक सञ्चालन कार्यविधि, २०८०’, ‘पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि, २०७८’ र ‘साझेदारी तथा लगानी ऐन, २०७९’ रहेका छन्, महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले जानकारी दिए।

    उनका अनुसार बैठकले एउटा कानुन, एउटा मापदण्ड र आठवटा नयाँ कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत प्रदान गरेको छ। तीमध्ये कार्यस्थलमा हुने लैङ्गिक हिंसा तथा अन्य सबै किसिमका लैङ्गिक हिंसाविरुद्धको कानुन प्रमुख रहेको छ।

    त्यसैगरी होमस्टे (घरबास) दर्ता तथा नवीकरण, सामुदायिक विद्यालय सार्वजनिक खरिद, संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन, प्रारम्भिक बालविकास केन्द्र तथा शिशु स्याहार केन्द्र सञ्चालन व्यवस्थापन, विशेष शिक्षा सञ्चालन तथा व्यवस्थापन, वैकल्पिक शिक्षा सञ्चालन तथा व्यवस्थापन, शैक्षिक गुठी सञ्चालन तथा व्यवस्थापन तथा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सहर व्यवस्थापनसम्बन्धी कार्यविधि तर्जुमा गर्न सहमति प्रदान गरिएको छ।

    साथै अस्थायी संरक्षण गृह सञ्चालनसम्बन्धी मापदण्ड तर्जुमा गर्न पनि सैद्धान्तिक सहमति प्रदान गरिएको महानगरले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page