गोरखा: गोरखा नगरपालिका–१० मा अवस्थित छेपेटार खेलमैदानको स्तरोन्नति तीव्र गतिमा अघि बढिरहेको छ। दरौंदी नदीको बगर क्षेत्रमा रहेको यस खेलमैदानको निर्माण कार्य तत्कालीन मेयर राजनराज पन्तको कार्यकालमा बजेट विनियोजन भई सुरु गरिएको थियो।
हालै मुख्यमन्त्री कार्यालयबाट प्याराफिट निर्माणका लागि करिब पाँच करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ भने ठेक्का प्रक्रिया पनि अगाडि बढिसकेको छ। निर्माण कार्य सम्पन्न भएपछि यो खेलमैदान गण्डकी प्रदेशमै पोखरा रङ्गशालापछिको उत्कृष्ट र व्यवस्थित रङ्गशालाको रूपमा विकास हुने विश्वास लिइएको छ।

यस खेलमैदानमा ‘ए लेभल’को प्रतिष्ठित प्रथम पृथ्वीनारायण गोल्डकप सफलतापूर्वक सञ्चालन भइसकेको छ, जसले यसको महत्व र सम्भावनालाई थप उजागर गरेको छ। आगामी दिनहरूमा खेलकुद क्षेत्रलाई थप सशक्त बनाउन स्थानीय तह सक्रिय रूपमा अघि बढिरहेको छ।
वडा नं. १० का वडाध्यक्ष तथा गोरखा नगरपालिकाका खेलकुद संयोजक प्रदीप कुँवर खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले निरन्तर प्रयासरत रहेका छन्। त्यस्तै, गण्डकी प्रदेशबाट आधिकारिक मान्यता प्राप्त फुटबल प्रशिक्षक मनीष पन्तले दैनिक साँझ ५ बजेपछि स्थानीय बालबालिका तथा खेलाडीहरूलाई नियमित प्रशिक्षण दिँदै आएका छन्। हाल उनी महिला फुटबल टिम निर्माणका लागि अग्रसर भएर काम गरिरहेका छन्।

यस खेलमैदानको स्तरोन्नति तथा दरौंदी नदी किनारमा सुरक्षित तटबन्धनका लागि गोरखा नगरपालिकाले वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको छ। नगर प्रमुख कृष्ण राना मगर र उपप्रमुख मसली माया थोकरले पनि यस खेलमैदानको विकासका लागि निरन्तर रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

खेलमैदान नजिकै निर्माणाधीन कभर्ड हल पनि चाँडै सञ्चालनमा आउने तयारीमा रहेको छ। प्याराफिट निर्माण सम्पन्न भएपछि गोरखा जिल्लामा आयोजना हुने अधिकांश खेलकुद प्रतियोगिताहरू यही मैदानमा सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।
स्थानीय तह, प्रदेश सरकार र खेलप्रेमीहरूको संयुक्त प्रयासले छेपेटार खेलमैदानलाई प्रदेशकै प्रमुख खेलकुद केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।


-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी