logo

आइतबार, साउन ११ २०८२

kantipurpationlinetv

२०८२ साउन ११ आइतबार

पशुपति संकट मोचन ज्ञान महायज्ञको दसौं दिन : भक्तजनको उल्लेखनीय सहभागिता

पशुपति संकट मोचन ज्ञान महायज्ञको दसौं दिन : भक्तजनको उल्लेखनीय सहभागिता


  • शनिबार, साउन १० २०८२
  • 5.1K
    SHARES

    काठमाडौं, साउन १० — काठमाडौंको पशुपति मन्दिर क्षेत्रमा जारी ‘श्री पशुपति मनोकामना पूर्ति तथा संकट मोचन विराट ज्ञानमहायज्ञ–२०८२’ दसौं दिनमा प्रवेश गरेको छ। आयोजक मानव सेवा फाउण्डेसन नेपालका अनुसार महायज्ञमा पछिल्ला दिनहरूमा भक्तजनको उल्लेखनीय सहभागिता देखिएको छ। महायज्ञ स्थलमा निर्माण गरिएको ५१ फिट अग्लो शिवलिङ्ग र त्यसमा प्रयोग गरिएको डेढ करोड रुद्राक्ष भक्तजनहरूको मुख्य आकर्षण बनेको छ। भक्तजनहरूका अनुसार उक्त शिवलिङ्गको दर्शन गर्न पाइने अनुभव नै अद्भुत र आध्यात्मिक ऊर्जा दिने खालको रहेको छ।

    साउन १ गतेदेखि सुरु भएको यो धार्मिक कार्यक्रम भदौ २१ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार महायज्ञमा दैनिक सयौं श्रद्धालुहरूको उपस्थिति रहेको छ, जसमा काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै बाहिरी जिल्लाबाट आएका भक्तजनको संख्यामा समेत उल्लेख्य वृद्धि भइरहेको छ।

    महायज्ञमा प्रतिदिन बिहान, दिउँसो र साँझ गरी तीन सत्रमा धार्मिक कथावाचन भइरहेको छ। हालसम्म सागर आचार्य, शीतलकृष्ण महाराज र आदियोगी गौतम स्वामी लगायतले प्रवचन दिइसकेका छन्। आगामी दिनमा अमृत शरण देवाचार्य, पण्डित दिनबन्धु पोख्रेल, राधिका दासी, देवी प्रतिभा, चन्द्रकला सखी, र अनुराधा पाण्डेय लगायत चर्चित वाचकहरूको कथा वाचन कार्यक्रम तय गरिएको छ। महायज्ञसँगै भजन-कीर्तन, ध्यान साधना, धार्मिक प्रवचन र विशिष्ट पूजापाठ पनि सञ्चालन भइरहेका छन्।

    महायज्ञमा महिलाको सहभागीता उल्लेखनीय देखिएको छ। आयोजकले भदौ १ गतेदेखि तीज महामहोत्सव आयोजना गर्ने तयारी गरिरहेको छ, जसअन्तर्गत तीज व्रत, पूजापाठ, तीज गीत र नृत्यसँगै धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका १०८ महिलालाई सम्मान गरिने कार्यक्रम तय गरिएको छ।

    महायज्ञको धार्मिक कार्यक्रमसँगै हरेक दिन देशका चर्चित कलाकारहरूले भक्तिपरक सांगीतिक प्रस्तुति दिँदै आएका छन्। भजन, कीर्तन, लोक सांगीतिक नृत्य, र धार्मिक भावनासँग मेल खाने नाट्यमय प्रस्तुतिले महायज्ञ स्थलमा आउने श्रद्धालुहरूको ध्यान खिचिरहेको छ। कलाकार सरोज खनाल, गायिका राधिका हमाल, गायक श्याम, नायिका रेखा थापा, नम्रता सापकोटा, नायक रमेश उप्रेती, गायक थानेश्वर गौतम, प्रोशेष पाण्डे, हांस्यकलाकार राता मकै, भटभटे माईला, घिरौले, गायिका पुर्णकला बिसि, शान्ति शाही लगायतका चर्चित कलाकारहरूको सहभागिता रहेको छ भने थप कलाकारहरू आउने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

    मानव सेवा फाउण्डेसनले महायज्ञमार्फत ललितपुरको मामाघर अनाथालय आश्रम र भक्तपुरको ज्येष्ठ नागरिक आश्रमको विकास तथा विस्तारको लागि सहयोग संकलन गरिरहेको छ। फाउण्डेसनका अनुसार मामाघर आश्रममा अनाथ तथा असहाय बालबालिकालाई नि:शुल्क गास, वास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षा सेवा दिइँदै आएको छ। त्यस्तै भक्तपुरस्थित आश्रममा बेसहारा तथा पीडित ज्येष्ठ नागरिकहरूलाई सम्मानपूर्वक आवास र हेरचाह सेवा दिइँदै आएको छ।

    महायज्ञका संकल्पकर्ता तथा मानव सेवा फाउण्डेसनका संस्थापक अध्यक्ष बालयोगेश्वर बिजयकृष्ण मुर्तीले भक्तजनको सहभागिताले कार्यक्रमलाई थप सफल बनाएको बताए। उनले भने, “धर्म, संस्कार र सामाजिक सेवाको समन्वयमार्फत हामी मानव जीवनको सार्थकता खोजिरहेका छौं। पशुपतिनाथको पावन क्षेत्रमै संकटमोचन महायज्ञ गर्न पाउनु नै सौभाग्य हो।” “५१ फिट अग्लो शिवलिङ्ग, करोडौं रुद्राक्ष, भक्तजनको समर्पण र कलाकारहरूको उत्साहले यो महायज्ञ अध्यात्म, धर्म र मानव सेवा बीचको अनुपम संगम बनेको छ।”

    मानव सेवा फाउण्डेसनले यसअघि २०८१ सालमा पशुपति कोटीहोम र हालै गण्डकी प्रदेशको पोखरामा गण्डकी कोटीहोम सम्पन्न गरिसकेको थियो। ती दुवै महायज्ञमा पनि भक्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो।

    महायज्ञका कार्यक्रमहरू कोष खड्का, दीप काफ्ले, नेत्रपाणी बाँस्तोला, मालती पराजुली, प्रदिपजंग थापा, र विष्णु पौडेल लगायतको टोलीले सञ्चालन गरिरहेका छन्। आयोजनाको व्यवस्थापन पक्षमा स्वयंसेवकहरू, संस्थाका सदस्यहरू र स्थानिय सहयोगी समूहहरू सक्रिय रहेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech