काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको हो। अघिल्लो आवको चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो।
एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो।
कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफासमेत उल्लेख्य बढेको छ। गत आवको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो। यस आधारमा करअघिको मुनाफा ३४ दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी (EBITDA) गत आवमा २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो आम्दानी १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो। तुलनात्मक रूपमा EBITDA १० दशमलव ७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमको कुल सञ्चालन आय गत आवको चौथो त्रैमासिकसम्म ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो। एक वर्षमा कम्पनीको सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३ दशमलव १२ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको कुल आयसमेत बढेर ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो। यसअनुसार कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २ दशमलव ६५ प्रतिशतले बढेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) ४९ रुपैयाँ २५ पैसा रहेको छ।
कम्पनीका अनुसार समीक्षा अवधिमा ब्याजदर क्रमिक रूपमा घट्दा ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आवको चौथो त्रैमासिकको तुलनामा गत आवको सोही अवधिमा ब्याज आम्दानी ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ। तर मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिले समग्र सञ्चालन आय तथा मुनाफामा सकारात्मक प्रभाव पारेको कम्पनीले जनाएको छ। विशेषगरी जिएसएम सेवातर्फको राजस्व बढेको छ। अघिल्लो आवको चौथो त्रैमासिकको तुलनामा गत आवमा जिएसएम सेवाबाट हुने राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २ दशमलव २८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ। नेपाल टेलिकमले व्यावसायिक रूपमा कम प्रतिफल प्राप्त हुने तथा लागत बढी लाग्ने विकट र दुर्गम क्षेत्रमा समेत दूरसञ्चार सेवा विस्तार गर्दै आएको जनाएको छ। राष्ट्रिय सञ्चार पूर्वाधारको जिम्मेवारीलाई ध्यानमा राख्दै त्यस्ता क्षेत्रमा नेटवर्क विस्तार, सेवा गुणस्तर सुधार तथा पहुँच अभिवृद्धिको कामलाई निरन्तरता दिइरहेको कम्पनीको भनाइ छ।
बढ्दो प्रतिस्पर्धाबीच डेटा तथा डिजिटल सेवाको प्रयोग विस्तार गर्दै सेवा गुणस्तर सुधार र नयाँ प्रविधिको विस्तारलाई आगामी दिनमा प्राथमिकतामा राख्ने नेपाल टेलिकमले जनाएको छ।
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला
-
कक्षा १२ सम्मका विद्यार्थीलाई हिमालयन कम्युनिटी प्रोजेक्टको नि:शुल्क हाइकिङ