logo

शुक्रबार, असोज ३० २०८३

kantipurpationlinetv

२०८३ असोज ३० शुक्रबार

विश्व हिन्दु कलाकार मञ्चको शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

विश्व हिन्दु कलाकार मञ्चको शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न


  • शुक्रबार, असोज ३० २०८३
  • 1K
    SHARES

    काठमाडौं । विश्व हिन्दु कलाकार मञ्च नेपाल (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समिति) ले विजया दशमी तथा दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। मञ्चका अध्यक्ष शिवन पोखरेलको अध्यक्षता तथा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कला, संस्कृति, पूर्वीय दर्शन तथा ज्ञान–विज्ञानको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको थियो।

    कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाह, आचार्य सोनम लामा, वरिष्ठ सौन्दर्यविद् तथा समाजसेवी मञ्जिला सुवेदी र सञ्चारकर्मी एवं म्युजिक खबरकी सम्पादक सविता पोखरेललगायतको विशिष्ट आतिथ्यता रहेको थियो।

    कार्यक्रममा नेपाली कला, चलचित्र, संगीत तथा समाजसेवाका क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा वरिष्ठ चलचित्रकर्मी रवीन्द्र खड्का, नायिका शर्मिला मल्ल, कलाकार तथा निर्देशक शेरबहादुर डिसी, वरिष्ठ इन्जिनियर तथा गायक–सर्जक धर्मराज पोखरेल, सामाजिक व्यक्तित्व नारायण देवकोटा, मदनकुमार केसी, पुष्कर न्यौपाने र विनोद महतोलगायत रहेका छन्।

    त्यसैगरी वरिष्ठ सौन्दर्यविद् मञ्जु कार्की पाण्डे, युवा गायक प्रचण्ड राज राई, युवा सञ्चारकर्मी गिरीप्रसाद भुसाल, गीतकार तथा समाजसेवी गायत्री थापा र अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक तथा समाजसेवी नितु कोइरालालाई पनि सम्मान गरिएको थियो। संस्थाले आफ्ना आजीवन सदस्यहरूको योगदानको कदर गर्दै उनीहरूलाई समेत सम्मान गरेको जनाएको छ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष नरहरी प्रेमीले कला, गीत–संगीत र पूर्वीय दर्शनको महत्त्वबारे मन्तव्य राखेका थिए। गायक तथा संगीतकार कृष्णराज भण्डारी, अञ्जु सुनार र रिया खत्रीलगायतले सांगीतिक प्रस्तुति दिएका थिए। महिला उपाध्यक्ष पूजन काफ्लेको व्यवस्थापन तथा प्रदीपकुमार रसाइलीको संयोजनमा सम्पन्न कार्यक्रम उपाध्यक्ष गोपाल ढकाल (छन्दे) ले सञ्चालन गरेका थिए।

    कार्यक्रममा अध्यक्ष शिवन पोखरेलले सहभागी अतिथि, सम्मानित व्यक्तित्व, कलाकार, पत्रकार, समाजसेवी, आजीवन सदस्य तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका थिए। उनले कला, संस्कृति, पूर्वीय दर्शन र ज्ञान–विज्ञानको प्रवर्द्धनमार्फत समाजमा शान्ति, सद्भाव, सहिष्णुता र विश्वबन्धुत्वको सन्देश फैलाउने संस्थाको अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page