गोरखा । गोरखा नगरपालिका–१० छेपेटारमा निर्माण गरिएको ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा आएको छ। शनिबारदेखि सञ्चालनमा आएको आश्रममा चितवनस्थित मानव सेवा आश्रममा बस्दै आएका गोरखाका २५ जना ज्येष्ठ नागरिकलाई ल्याएर राखिएको छ।
गण्डकी प्रदेश सरकारको करिब साढे चार करोड रुपैयाँ लागतमा निर्माण भएको आश्रम सञ्चालनको जिम्मेवारी मानव सेवा आश्रमलाई दिइएको छ। यसका लागि पाँच वर्षको सम्झौता भएको एकीकृत सेवा कार्यालयका निमित्त प्रमुख दशरथ शर्माले जानकारी दिए।
उनका अनुसार अब क्रमशः गण्डकी प्रदेशका अन्य जिल्लाका ज्येष्ठ नागरिकलाई पनि आश्रममा ल्याइनेछ। जीवनयापनका लागि आयस्रोत नभएका, पालनपोषण तथा हेरचाह गर्ने परिवारका सदस्य नभएका र परिवार हुँदाहुँदै पनि अपहेलित तथा उपेक्षित जीवन बिताउन बाध्य ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई आश्रममा राखिनेछ।
आश्रमले ज्येष्ठ नागरिकको उद्धार, संरक्षण, सुरक्षित आवास, स्वास्थ्य उपचार तथा पारिवारिक पुनर्मिलनका लागि काम गर्नेछ। आश्रम सञ्चालनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ विनियोजन गरेको छ। उक्त रकम मानव सेवा आश्रमलाई उपलब्ध गराइने र तोकिएको मापदण्डअनुसार खर्च गरिने जनाइएको छ।
तीन रोपनी सरकारी जग्गामा निर्माण गरिएको आश्रममा तीनवटा छुट्टाछुट्टै संरचना छन्। कार्यालय प्रयोजनका लागि एउटा भवन बनाइएको छ भने ज्येष्ठ नागरिकको आवासका लागि निर्माण गरिएको भवनमा सभा हलसहित २४ वटा कोठा छन्। त्यस्तै, सुरक्षा गार्डका लागि छुट्टै भवनसमेत निर्माण गरिएको छ।
आश्रम भवनमा रंगरोगन र बिजुली जडानको काम सम्पन्न भइसकेको छ। केही कोठामा एसीसमेत जडान गरिएको छ भने आश्रमसम्म पुग्ने सडक कालोपत्रे गरिएको छ। यद्यपि, भवनका केही संरचना मर्मत, डाइनिङ हल, बेडबिस्तार तथा भान्साको व्यवस्थापन गर्न बाँकी रहेको आश्रमले जनाएको छ।
हाल आश्रममा पाँच जना कर्मचारी कार्यरत छन्। प्रत्येक प्रदेशमा एउटा ज्येष्ठ नागरिक आश्रम निर्माण गर्ने सरकारको योजनाअनुसार गण्डकी प्रदेशका लागि गोरखाको छेपेटारमा आश्रम निर्माण गरिएको हो।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने