काठमाडौं — नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य भएको बताएका छन्। उनले शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक रहेकोमा जोड दिएका छन्।
नेपालमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक बन्दै गएको उल्लेख गरेका छन्। उनले यस्तो परिस्थितिमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकता अझ आवश्यक बनेको बताएका छन्।
शुभकामना सन्देशमा उनले लेखेका छन्, “सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ।” साथै उनले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकासका लागि व्यापक मोर्चाबन्दी आवश्यक रहेको उल्लेख गरेका छन्।
वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी को ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै प्रचण्डले सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी सत्ता स्थापनाको उद्देश्य अझै सान्दर्भिक रहेको बताएका छन्। स्थापना दिवस विभिन्न कम्युनिष्ट दलहरूले आ–आफ्नै ढंगले मनाउँदै आएका छन्।
उनले वर्तमान अवस्थामा शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेको उल्लेख गर्दै साँचो अर्थमा जनताको व्यवस्था पूर्णरूपमा स्थापित हुन नसकेको बताएका छन्। समाजमा विभेद कायम रहँदासम्म कम्युनिष्ट आन्दोलनको औचित्य रहिरहने उनको भनाइ छ।
विश्व राजनीतिमा साम्राज्यवाद फासिवादी दिशातर्फ उन्मुख भइरहेको उल्लेख गर्दै प्रचण्डले व्लादिमिर लेनिन का विचार र आदर्श अझ सान्दर्भिक बनेको बताएका छन्। उनले कम्युनिष्ट आन्दोलनले उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।
प्रचण्डले विगतका बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै श्रमजीवी जनताको पक्षमा आन्दोलनलाई अगाडि बढाउने जिम्मेवारी अझ बढेको उल्लेख गरेका छन्। “इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन आवश्यक छ,” उनले भनेका छन्।
सन्देशको अन्त्यमा उनले विगतको समीक्षा र वैचारिक संश्लेषणसहित वामपन्थी आन्दोलनको पुनर्गठनका लागि सबैमा आह्वान गरेका छन्।

-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल