कैलाली — नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकार उल्टो दिशामा अघि बढिरहेको टिप्पणी गरेका छन्।
प्रेस चौतारी नेपाल, कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवामुखी एजेन्डाका कारण प्रारम्भमा जनसमर्थन प्राप्त गरे पनि सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठेको बताए।
“रास्वपाले पुस्तान्तरणको विषय उठाएर जनमत प्राप्त गरेको हो। तर सरकार र पार्टी दुवैलाई असफल हुने छुट छैन,” उनले भने, “तर पछिल्ला कामकारबाही हेर्दा सरकार टाउकोले टेकेर उल्टो बाटोमा हिँडिरहेको देखिन्छ, यसरी गन्तव्यमा पुग्न सकिँदैन।”
महरले सरकारका प्रारम्भिक गतिविधिहरूले लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रियताप्रति स्पष्ट प्रतिबद्धता नदेखिएको आरोप लगाए। विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने आश्वासन दिएर जनमत प्राप्त गरिएको भए पनि कार्यान्वयनमा सरकार असफल भएको उनको भनाइ थियो।
“आज दैनिक रूपमा नेपाली विदेश गइरहेका छन्। १०० दिनभित्र विदेशबाट नेपाली फर्काउने कुरा कहाँ गयो?” उनले प्रश्न गरे, “आर्थिक वृद्धिको स्पष्ट योजना छैन। शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र पनि प्राथमिकतामा छैनन्।”
उनले सरकारमाथि पूर्वाग्रह राखेर प्रतिशोध साध्ने प्रवृत्ति देखिएको आरोप समेत लगाए। साथै, कानुनी राज्यको उपहास भइरहेको उनको दाबी थियो।
“३२ दिनमै दुई मन्त्री परिवर्तन गर्नुपर्ने अवस्था आयो। सरकारका सांसदहरूको अभिव्यक्तिले पनि जनतामा निराशा बढाएको छ,” उनले भने, “सरकार विधिको शासनभन्दा बाहिर गएको देखिन्छ।”
सुकुम्बासी बस्तीमा गरिएको बल प्रयोगप्रति आपत्ति जनाउँदै उनले वास्तविक सुकुम्बासीहरूको पहिचान र उचित व्यवस्थापन आवश्यक रहेको बताए।
“पहिचानपछि मात्रै व्यवस्थापन गर्नुपर्थ्यो। तर सबैलाई एकै व्यवहार गर्दा अन्याय भएको छ,” उनले भने।
महरले सरकारले जनताको समस्याप्रति संवेदनशीलता नदेखाएको आरोप लगाउँदै संसद र सडक दुवै माध्यमबाट खबरदारी जारी रहने स्पष्ट पारे।
“संविधानले दिएको हक अधिकार स्थापित गर्न हामी दृढ छौं। संसदमा कुरा नसुनिए सडकबाट पनि आवाज उठाइनेछ,” उनले भने।
संसद सञ्चालनमा सरकारको कमजोरी रहेको आरोप लगाउँदै उनले बैठक आह्वान गरेर पनि स्थगित गर्नु जनप्रतिनिधिमाथि अपमान भएको टिप्पणी गरे।
अर्को प्रसंगमा उनले नेकपा एमालेभित्र आन्तरिक विवाद रहेको भन्ने हल्ला असत्य भएको दाबी गरे।
“एमालेले ११औं महाधिवेशन सम्पन्न गरिसकेको छ। आन्तरिक छलफल चलिरहेको छ तर बाहिर सुनिएजस्तो विवाद छैन,” उनले भने, “लामो राजनीतिक यात्राबाट आएको पार्टी भएकाले अहिले आत्तिनुपर्ने अवस्था छैन।”
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण