काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानित र सुरक्षित वातावरण उपलब्ध गराए देशको आर्थिक रूपान्तरण तीव्र गतिमा सम्भव हुने बताएका छन्।
महासंघको ६०औँ वार्षिकोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महासंघको यात्रा नेपालको आर्थिक इतिहासमा संघर्ष, साझेदारी र दृढ संकल्पले निर्माण भएको महत्वपूर्ण चरण भएको उल्लेख गरे। यस अवधिमा महासंघले निजी क्षेत्रको आवाज सशक्त बनाउँदै उद्योग, व्यापार र लगानीको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
अध्यक्ष ढकालले हालै गठन भएको स्थायी सरकार र निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण रणनीतिलाई सकारात्मक कदमका रूपमा उल्लेख गर्दै यसले नीतिगत तथा भौतिक सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझाव कार्यान्वयनप्रति सरकारको चासोलाई स्वागत गरे।
उनका अनुसार मुलुक अहिले महत्वपूर्ण अवसरको चरणमा रहेको छ र नीतिगत स्पष्टतासँगै विकासले गति लिन सक्ने सम्भावना रहेको छ। उनले रोजगारी सिर्जना प्रमुख चुनौती भएको उल्लेख गर्दै निजी क्षेत्रलाई थप सक्षम बनाउनु आवश्यक रहेको बताए।
ढकालले ऊर्जा, कृषि, पर्यटन र खनिज क्षेत्रका सम्भावनाको पूर्ण उपयोग गरी लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै सुशासन, प्रविधिको प्रयोग र पारदर्शितालाई लगानीको आधार बनाउनुपर्ने बताए। साथै सरकारी सेवा प्रणालीलाई डिजिटल बनाउँदै नागरिक एपमार्फत सेवा विस्तार गर्नुपर्ने सुझाव दिए।
महासंघले १० अर्ब रुपैयाँको लगानी कम्पनी स्थापना गरिसकेको जानकारी दिँदै उनले यसले ठूला आयोजना सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। विदेशी लगानी आकर्षित गर्न आयोजित अन्तर्राष्ट्रिय बिजनेस समिटहरूबाट सकारात्मक संकेत देखिएको पनि उनले बताए।
उनले निजी क्षेत्रले अब आर्थिक सुधारको नेतृत्व लिनुपर्ने धारणा राख्दै सरकारसँग मात्र निर्भर नरही सक्रिय भूमिका खेल्न व्यवसायीहरूलाई आह्वान गरे। साथै स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गरी नयाँ अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।
सम्बोधनको अन्त्यमा उनले भूकम्प र कोभिड–१९ जस्ता चुनौती पार गर्दै निजी क्षेत्र अझ सशक्त बनेको उल्लेख गर्दै भविष्यप्रति आशावादी रहन आग्रह गरे।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी