काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदका लागि गोरखाका युवा नेता सन्तोष पन्तले उम्मेदवारी दर्ता गराएका छन्।
गोरखा जिल्लाको गण्डकी गाउँपालिकाका स्थायी बासिन्दा पन्त रास्वपाको स्थापना कालदेखि नै पार्टी निर्माण अभियानमा सक्रिय रूपमा संलग्न रहँदै आएका नेता हुन्। पार्टीको संगठन विस्तार, सदस्यता अभियान, चुनावी परिचालन तथा विभिन्न राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका उनले पार्टीभित्र समर्पित र ऊर्जाशील युवा नेताको परिचय बनाएका छन्।
राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण पन्त राष्ट्रिय स्वतन्त्र युवा संगठन (RAT) का केन्द्रीय सचिवसमेत हुन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै संगठन निर्माणमा सक्रिय भूमिका खेल्दै आएका उनी पार्टीलाई संस्थागत, व्यवस्थित र वैचारिक रूपमा थप सुदृढ बनाउनुपर्ने पक्षमा स्पष्ट धारणा राख्दै आएका छन्।
रास्वपा सभापति रवि लामिछानेमाथि विभिन्न समयमा आएका राजनीतिक तथा कानुनी चुनौतीका बेला समेत पन्त निरन्तर पार्टी र नेतृत्वको पक्षमा उभिएका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेका रवि लामिछानेको चुनावी अभियानमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए। त्यसैगरी, उपनिर्वाचनका क्रममा पनि लामिछानेलाई पुनः विजयी गराउन उनले महत्वपूर्ण योगदान दिएको पार्टीका कार्यकर्ताहरू बताउँछन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ बाट निर्वाचित सुदन गुरुङको चुनावी अभियानमा समेत पन्तको भूमिका प्रभावकारी रहेको बताइन्छ। पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताबीच समन्वय गर्दै संगठनलाई बलियो बनाउने काममा उनको योगदान उल्लेखनीय मानिन्छ।
उम्मेदवारी घोषणा गर्दै पन्तले रास्वपाको स्थापना दिवसदेखि आजसम्म आफ्नो ऊर्जाशील समय र क्षमतालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी निर्माणमा समर्पित गरेको बताएका छन्। पार्टीलाई अझ बलियो, लोकतान्त्रिक, व्यवस्थित र संस्थागत बनाउन युवाको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको उनको भनाइ छ।
“पार्टी निर्माणको यात्रामा प्राप्त अनुभव, संगठनप्रतिको प्रतिबद्धता र युवाको नेतृत्व विकासको आवश्यकतालाई आत्मसात् गर्दै मैले गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको हुँ,” पन्तले भने, “पार्टीलाई अझ सशक्त, जिम्मेवार र जनमुखी बनाउन आफ्नो भूमिका प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ। रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना गर्ने निर्णय यसअघि नै गरिसकेको थियो।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान’
-
प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा पाउने
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू
-
सचिन भट्टराईको नयाँ तीज गीत ‘मलाई नेपाल बस्नै मन थिएन, एम्बेसीले भिसा दिएन’ को छायांकन सम्पन्न